
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्ने क्रम जारी रहेको छ । यसै क्रममा फुटबलका पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गिय गंङ्गा गुरूङका जेठा छोरा देवान गुरूङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई नगद सहयोग हस्तान्तरण गरेका छन् ।
को हुन स्वर्गिय गुरूङ
मञ्चका आजिवन सदस्य समेत रहेका फुटबलका पूर्व राष्ट्रिय खेलाडी देवानको बुवा गंगाको ६४ वर्ष को उमेरमा २०६५ सालमा निधन भएको थियो । नेपाली सेपाकताक्रो खेलको जन्मदाता समेत रहेका स्वर्गिय गुरूङ १९७२ मा जापानमा सम्पन्न एसियाली खेलकुदमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य समेत् थिए । सिङ्गापुर प्रहरीका प्रहरी निरिक्षक समेत रहेका उनी आफ्नो यौवनकालमा काठमाण्डौको चर्चित ए डिभिजनको क्लब आरसिटीबाट समेत खेल्ने गर्थे । धेरै पटक गण्डकी टिमबाट राष्ट्रिय फुटबलमा आफ्नो कुशलता प्रदान गरेका उनले गण्डकीले चर्चित नर ट्रफी जित्दा टिमको सदस्य समेत थिए ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत अपाङ्गता दौडतर्फ नगद रु ४० हजारउनले नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङलाई हस्तान्तरण गरेको १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनका संयोजक खेम गुरूङले जानकारी दिए । देवान नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत् हुन् ।
पाँच वर्षका लागि सम्झौता भए अनुरुप देवानले यो सहित दोस्रो पटक सो रकम हस्तान्तरण गरेका हुन् । उनले रकम हस्तान्तरण गर्दै आफ्नो बुवाको खेलकुद प्रतिको रुचीलाई स्थायी बनाउन समेत सहयोग गरेको बताए ।
सो अवसरमा मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङलगायतको सहभागिता रहेको थियो ।
