
पोखरा, क्यान प्रेसिडेन्ट–११ सम्मिलित नेपालको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा जारी मैत्रीपूर्र्ण एक दिवसीय क्रिकेटमा पाहुना टोली मलेसिया बोर्ड–११ माथि लगातार दोस्रो जित दर्ता गरेको छ ।
दुई दिवसीय क्रिकेट खेल्न नेपाल भ्रमणमा रहेको मलेसियालाई नेपालले दोश्रो खेलमा १ सय ७० रनले पराजित गर्दै ऋंखलानै जितेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनायो । बलियो सुरुवात गरेको नेपालले ५४ रनमा पहिलो विकेट गुमाएको थियो ।

ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेललले अर्धशतकीय पारी खेले । कप्तान मल्ले ५५ रोहितकुमारले (रिटायर्ड हर्ट) ५६ रन बनाए । नेपालका लागि सुवास खकुरेलले ४८ रनको योगदान दिए । सुनिल धमलाले २४ लोकेश बमले ३२ रन र बिनोद भण्डारीले २१ बनाए । पवन शर्राफले १२ र सुसान भारीले १६ बनाए ।
जवाफमा मलेसिया २८.४ ओभरमा १२० रन बनाएर सबै विकेट गुमायो । मलेसियाका लागि चार जना खेलाडीले मात्र दोहोरो अंक जोडे । भुषन साभेले २४, सइद अजिजले २८, भरन्दीप सिंहले २३ र अहमद फेइजले १९ रन जोडे ।
नेपालका लागि ललित राजवंशी र किशोर महतोले ३–३ विकेट लिए । यसअघि, पहिलो खेलमा पनि नेपाल ११ विजयी बनेको थियो । नेपाल र मलेसिया विच विहिबार ट्वान्टी ट्वान्टी म्याच हुने आयोजकले जनाएको छ ।
