खेलस्थल बारे टुङ्गो लागेको छैन–राखेप सदस्य गुरुङ

सवै खेलहरु गण्डकी प्रदेशमा नै गर्नुपर्नेमा जोड

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल स्थलको कुनै टुङ्गो नलागेको राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले जनाएका छन् ।

आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुदका लागि खेल मैदान व्यवस्थापनको पहिलो चरणको निरिक्षणको प्रक्रिया सुरु गरेको राखेप सदस्य गुरुङले जनाएका हुन् । खेल स्थल व्यवस्थापन समितिका संयोजक समेत रहेका गुरुङले भने–“हामी पहिलो चरणमा नै छौं खेलस्थलको टुङ्गो राखेपको बैठकले लगाउने छ ।” खेलस्थल बारे असोज १५ गते हुने राखेपको वोर्ड बैठकले टुङ्गो लगाउने उनले बताए ।

पहिलो चरण अन्तर्गत कास्की लगायत अन्य जिल्लाका खेलस्थलहरुको निरिक्षण र त्यहाँको भौतिक पूर्वाधारहरुको बारेमा जानकारी लिने मात्रै काम भएको बताउँदै संयोजक गुरुङले आफूले उक्त प्रतिवेदन बैठकमा राख्ने बताए । “यो निकै चुनौतीपूर्ण काम हो । खेलस्थल मात्रै हुँदैन । खेलाडी र अफिसियल बस्ने सुविधा जनक आवासका साथै प्रशिक्षणस्थल पनि उत्तिकै अपरिहार्य छ” उनले भने–“हरेक जिल्लाको मौसमले पनि खेल प्रभावित हुने भएकोले यसका लागि गम्भिर भएर आफ्नो उपसमितिले काम गर्नेछ ।”

मंगलबार नै राखेप सदस्य गुरुङले आफ्नो तयारी बारे अग्रज खेलाडीहरु संग बसेर छलफल गरेका थिए । अग्रज खेलाडीहरुले गण्डकी प्रदेशले ३८ वटै खेलमा सहभागि जनाउनु पर्ने सुझाव दिएको उनले बताए । उनीहरुले सवै खेलहरु गण्डकी प्रदेशमा नै गर्नुपर्ने कुरामा जोड समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close