जिल्ला खेलकुद कास्कीका अध्यक्ष ‘मिलन’सहित, तीन जिल्लाका अध्यक्षहरुले लिए शपथ

पोखरा स्पोर्टस । जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मनोनयन भएका मिलन गुरूङसहित अन्य तीन जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरुले शपथ लिएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमका बीच परिषदका उपाध्यक्ष धोज कुमार गुरूङको उपस्थितीमा सदस्य सचिब श्रीधर शर्माले शपथ गराएका थिए । उनीहरुलाई यूवा तथा खेलकुद मन्त्रालय मन्त्री परिषदका अध्यक्ष मन्त्रीस्तरीय २०८१ चैत्र १२ गतेको निर्णयनुसार प्रदेशप्रदेश खेलकुद विकास ऐन २०७७, प्रदेश खेलकुद विकास नियमावली २०७८ बमोजिम आगामी चार वर्षका लागि मनोनयन गरिएको हो । 

यो सहित १० जिल्ला खेलकुद विकास समितिले पूर्णता पाएका छन् ।

यसै गरी स्याङजा जिल्लाका अध्यक्ष प्रकाश रेग्मी मुस्ताङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनयन भएका अमित तुलाचन र कोषाध्यक्ष विशाल शेरचन, मनाङका अध्यक्ष हुपजङ्ग गुरुङ र कोषाध्यक्ष रुपा घले गुरूङले समेत शपथ लिएका छन् । मुस्ताङ र मनाङमा उपाध्यक्ष र सचिवको मनोनयन हुन बाँकी रहेको छ भन् बाग्लुङमा अध्यक्ष र कोषाध्यक्ष मनोनयन बाँकी छ । त्यस्तै जिल्ला खेलकुद समिति नवलपुरको अध्यक्ष सेत बहादुर पुन अध्यक्षमा दोहोरिएका छन् ।

सो अवसरमा बोल्दै उपाध्यक्ष धोज कुमार गुरूङले समितिका पदाधिकारीहरूलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै जिल्लाको खेलकुद विकासका लागि सबै संग सहकार्य गरेर अघि बढ्न आग्रह गरे । उनले भने–“हामीले सिमित स्रोत साधनमा काम गर्नु छ । खेलाडीहरुको अपेक्षा धेरै छ । तर सबै विषयको गहन अध्ययन गर्दै सबै खेल संघ र जिल्ला खेलसंघरुलाई खेलकुद विकासको मुलधारमा अघि बढाउनु छ ।”

कार्यक्रममा बोल्दै सदस्य सचिब शर्माले खेलकुद विकासका लागि जिल्ला खेलकुद समितिहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले खेलकुद विकासको बजेट अन्य मन्त्रालयबाट विनियोजन हुँदा सोच अनुरुप जिल्ला र स्थानिय तहमा खेलकुदका पूर्वाधार निर्माण अघि बढ्न नसकेको बताए । उनले भने–“खेलकुद पुर्वाधार निर्माणको बजेट अन्य मन्त्रालय मार्फत जाँदा हरेक वर्ष बजेट फिर्ता भएको छ । अब त्यसो हुन नदिन सबै जिल्ला खेलकुदहरुले सामुहिक आवाज उठाउनु पर्छ ।”

खेलकुद विकासका लागि सबै पक्षलाई समेटेर अघि बढ्नु पर्ने बताउँदै सदस्य सचिब शर्माले सिमित स्रोत साधनका बावजुद नवलपुर र लमजुङमा जिल्ला खेलकुद विकास समिति कार्यालय भवन निर्माणको कार्य अघि बढेको बताउँदै सबै जिल्लाहरु दशौं राष्ट्रिय खेलकुदको तयारीमा रहन समेत निर्देशन दिए ।

यता शपय ग्रहण संगै अध्यक्ष मिलन गुरूङ, उपाध्यक्ष तिलक बहादुर क्षेत्री, सचिब अन्जु केसी र कोषाध्यक्ष विग्नेश थापाले जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर पदभार समेत ग्रहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close