
पोखरा, १७ फागुन ।
सहारा क्लब पोखरा द्वारा आयोजित १७ औं आहा रारा गोल्ड कपको फाइनल खेल शनिबार हुँदैछ । नेपाली फुटबलका दुई हस्ती क्लबहरु रुस्लान थ्रि स्टार र त्रिभुबन क्लबको नेपाल आर्मीले फाइनलमा भिडन्त पक्का गरेका छन । फाइनल खेलको पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा यो फाइनल खेल रोमाञ्चले भरिएको हुने बताएका छन ।
पोखरा रंगशालामा यस अघि पाँचौ, नवौं, ११ औं र १३ औं आहा राराको उपाधी विजेता र १६ औं को उपविजेता रही सकेको थ्रि स्टार र सातौ, आठौं र १४ औं को उपविजेता रहेको नेपाल आर्मीको भिडन्त रोमाञ्चपूर्ण नै हुने फुटबल विश्लेषक समेत अनुमान गरेका छन ।

माछापुच्छ्रे हिमालको पृष्ठभूमीमा फेवातालमा माछाले बललाई चुमेर खेल्दै गरेको ऐतिहासक आहा रारा गोल्डकप सायद कुन टिम होला एक पटक उचाल्न मन नहुने । १७ औं संस्करण सम्म आइपुग्दा यो कप उचाल्ने सबै भन्दा वढी मनाङ मस्र्याङदी क्लब नै हो । तर थ्रि स्टारले पनि चार पटक आफुनो पोल्टामा पारिसकेको छ भने आर्मी तिन पटक नजिक पुगेर पनि त्यो कप उचाल्ने भाग्यमानी टिम बन्न सकेको छैन ।
त्यही गोल्डकपलार्ई पृष्ठभूमी राखेर शुक्रबार दुबै फाइनल स्पर्धाका टिमले गोल्डकप उचाल्ने दाउमा आ–आफ्नो धारणा पोखेका छन ।
प्रि म्याच कन्फ्रेन्सममा थ्रि स्टारका प्रशिक्षक मेघराज केसीले चिर परिचित टिम नेपाल आर्मी संगको फाइनल भिडन्त उत्कृष्ट हुने बताए । उनले भने–‘फाइनल कस्ले जित्छ अहिले नै अनुमान लगाउन गाह«ो होला तर विपक्षीका कमजोरी केलाउँदै मैदानमा गोल गर्ने प्रयास रहनेछ ।’ उनले विगतको इतिहासलाई दो¥हाउने पक्षमा आफ्नो टिम रहेको बताए ।
नेपालमा केही समय देखि फुटबल खेल्न निम्त्याइएको क्यामरुनको दाउफिन्स फेमिली क्लबको बारेमा सोधिएको एक प्रश्नमा प्रशिक्षक केसीले दाउफिन्स फुटबल टिम नभएको र फाइट गर्न मैदान छिरेको अनुभब प्राप्त भएको बताए । उनले भने–‘मैदान भित्र खेलका आफ्नै अनुशासान हुन्छन तर दाउफिन्सले ति अनुशासन तोडेको छ’ प्रशिक्षक केसीले भने–‘विदेशी टिम भन्दैमा फुटबल खेलको नै धज्जी उडाउने टिमलाई नेपाल भित्राउन हुँदैन ।’
यता नेपाल आर्मीका प्रशिक्षक नबिन न्यौपाने समेत फाइनल जित्ने दाउमा रहेको बताए । पोखरा रंगशालामा दुई पटक सम्म उपविजेतामा सिमित रहेको नेपाल आर्मीको इतिहास रहेको बताउँदै प्रशिक्षक न्यौपानेले आफ्नो टिम इतिहास रच्न फाइनलमा उत्रने बताए ।
थ्रि स्टार बलियो टिम रहेको र बलियो टिम संगको खेल पक्कै पनि रोमाञ्चपूर्ण रहने बताउँदै प्रशिक्षक न्यौपानेले भने–‘हामीमा फाइनल जित्ने फाइटिङ स्पिरिट छ, हामी यो पटक उपाधी पक्कै उचाल्ने छौं ।’
थ्रि स्टारका कप्तान बिक्रम लामाले नेपाल आर्मीमा राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडीहरु रहेको हुनाले पनि यो फाइनल खेल धेरै उत्कृष्ट हुने बताए भने नेपाल आर्मीका कप्तान भरत खवासले नेपाल आर्मीले जितलाई निरन्तरता दिन चाहेको र टिम लाई उपाधी जिताउने प्रयास रहेको बताए ।
थ्रि स्टारले शसस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल आर्मीले क्यामरुनको दाउफिन्स क्लबलाई सेमीफाइनलमा पराजित गर्दै उपाधीका लागि फाइनलमा स्थान पक्का गरेका थिए । यस अघि दुबै टिम विरगञ्जमा सम्पन्न विशाल मेमोरियलको फाइनलमा भिडेका थिए । जहाँ थ्रि स्टार भाग्यमानी बनेको थियो ।
