विश्वकै अनुपम पोखरा रंगशालाको क्रिकेट खेल मैदान, रंगशाला बनाउन संघिय र प्रदेश सरकारको चासो, ५ करोड विनियोजित, अब ओत लाग्ने ठाउँ बन्ला की ?

केशब पाठक,
पोखरा, ३ असार । पोखरा रंगशाला भित्र अहिलेको क्रिकेट मैदान बनाउनमा पृथ्बीनारायण क्याम्पसका पूर्व प्रमुख डा. बिरेन्द्र सिंह गुरुङको योगदानलाई बिर्सन सकिन्न । लामो समय देखि संरक्षणको पर्खाइमा रहेको क्रिकेट रंगशाला निर्माणका लागि आगामी बजेट २०७६/०७७ का लागि संघिय ३ र प्रदेश सरकारले २ करोड गरि कुल ५ करोड विनियोजित गरि चासो देखाएपछि अब क्रिकेट बिकासले साँच्चिकै गति लिने विश्वास लिइएको छ । त्यो मात्रै नभई १३ औं दक्षिण एशियाली खेलकुद (साग)को महिला क्रिकेट पोखरामा आयोजना गर्न सकिने बारे सम्भावनाको ढोका पनि खोलेको छ ।

पोखराको क्रिकेट खेल मैदान बारे एशियाली क्रिकेट काउन्सिलले पनि चासो लिएको थियो । तर केन्द्रिक्रित मानसिकताले मैदानको अवस्था ज्यूँका त्यूँ नै रहन पुग्यो । यो मैदानको अवस्था २०७५ सालमा यसरी ह्वात्तै बढ्यो जब पोखरामा पोखरा प्रिमिएर लिगको आयोजना शुरु भयो । त्यही प्रतियोगिताका दौरान पोखरामा पहिलो पटक ल्याइएको आइसिसी ट्रफीले विश्वका क्रिकेट खेलप्रेमीहरुको ध्यान ह्वातै बढायो र भन्न थालियो–‘विश्वकै अति अनुपम क्रिकेट रंगशाला मध्येको एक ।’

पोखरा क्रिकेट मैदानले नेपालको राष्ट्रिय टिमका लागि धेरै खेलाडी उत्पादन गर्यो । तर मैदानमा पानी परे पछि ओत लाग्ने ठाउँ समेत बन्न सकेन । धेरै पटक निर्माणका लागि दबाब दिइयो । तर कुरा सुन्ने काम नहुने प्रवितीले संधै निराश बनायो । जब गत वर्ष बाट पोखरा प्रिमिएर लिग (पिपिएल) को संस्करण शुरु भयो । फेरी रंगशाला निर्माण गर्ने हल्ला चल्यो । पिपिएलको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टले मैदानमा नयाँ पिच थप्यो शौचालय निर्माण गर्यो । तर ओत लाग्ने ठाउँ बन्न सकेन, पिपिएलको आयोजकले बनाउन सक्ने कुरै पनि भएन ।

पोखरा खेलकुद त्यस भन्दा पनि क्रिकेटका लागि अन्तर्राष्ट्रिय स्तरको हुनै पनि प्रतियोगिता गराउन सक्षम रहेको कुरा पिपिएल पोखरामा आयोजना गराउन महत्वपूर्ण भूमिका खेल्ने मध्येका त्रिभुबन पौडेल बताउँछन । चितवन राइनोजका संचालक समेत रहेका पौडेलले पोखरामा वार्षिक रुपमा ३ वटा सम्म अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सके मात्रै पोखराले पर्यटन लगाएत आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सक्ने भनाई राख्छन । उनी भन्छन–‘हामीले यो काम पहिल्यै नै गर्नु पर्दथ्यो, ढिलो भए पनि अब केही आशा जागेको छ, पोखरा फेरी क्रिकेटमय बन्नेमा म ढुक्क छु ।’

पूर्व क्याम्स प्रमुख डा. गुरुङको सपना मात्रै नभई पोखरेली आम क्रिकेट प्रेमीहरुको चाहना पनि छिटो भन्दा छिटो क्रिकेट रंगशाला बनोस भन्ने नै थियो । एक सात अघि संघिय सरकारले ल्याएको बजेटमा ३ करोड दुई दिन अघि आएको प्रदेश सरकारको बजेटमा २ करोड बिनियोजित भएपछि सबैको ध्यान क्रिकेट तिर तानिएको छ । पिपिएले प्रदान गरेका केही सामाग्रीहरु समेत राख्ने स्थान नभएर बिग्रिने अवस्थामा रहेको क्रिकेटका लागि एकै पटकमा ५ करोड आउनु र सरकारले उत्तिकै चासो दिनु महत्वपूर्ण रहेको पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष सम्पन्न श्रेष्ठ बताउँछन ।

दुबै सरकारले बजेट बिनियोजित गरे पछि स्वागत योग्य रहेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिगदेल बताउँछन । ‘यसले नयाँ सम्भावनाको ढोका खोलेको छ, त्यो मात्रै नभई १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा महिला क्रिकेट पोखरामा गर्न सकिन्छ कि भन्ने कुरा पनि छलफलमा ल्याउन सकिन्छ ।’ यस क्षेत्रको क्रिकेट बिकासमा पोखरा क्रिकेट खेल मैदानको जुन प्रकारको सहयोग छ त्यसलाई अघि बढाउन स्टेडियमको निर्माण हुनु पर्छ भन्ने आवाजलाई केही हद सम्म सुन्ने प्रयास भएकोमा अध्यक्ष सिग्देल खुसी व्यक्त गर्छन ।

तस्बिरः शुदर्सन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close