
पोखरा, ५ साउन । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग)का लागि पोखरामा दिनहुँजसो बैठक र छलफल हुन थालेका छन ।
१३ औं साग अन्तरगत पोखरामा हुने सात खेल संघका केन्द्र र जिल्ला संघका पदाधिकारीहरु, पश्चिमाञ्चल र क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष तथा कार्यालयका कर्मचारीहरुको शंयूक्त बैठक राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष राजेश गुरुङको सक्रियतामा भएको हो ।
बैठकमा आ–आफ्ना खेलकुदका परिशरहरुको सरसफाई, वृक्षारोपण लगाएत आफ्नो संघको तर्फ बाट १३ औं सागको प्रचारप्रसारमा समेत अगाडी बढ्ने र आवश्यक भौतिक पूर्वाधारहरुको लागि यथासिघ्र पहल थाल्ने निर्णय गरिएको छ । जस अन्तरगत यहि साउन ७ गते पोखरा रंगशालामा वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम समेत गरिने भएको छ ।
प्रदेश सरकार र स्थानिय सरकारहरु संग १३ औं सागका लागि समन्वयमा जोड दिंदै आवश्यक भौतिक पूर्वाधारका विषयमा समेत पश्चिमाञ्चल र जिल्ला खेलकुद मार्फत छलफल अगाडी बढाइने निर्णय गरिएको छ ।
साग अन्तरगत पोखरामा हुने भारोत्तोलन खेल पोखराको सभागृहमा गर्ने र त्यहाँको आन्तरिक भौतिक पूर्वाधार मर्मतका लागि यथासिघ्र पोखरा महानगरपालिका संग सहकार्य गर्ने राखेप सदस्य गुरुङले बताएका छन ।
‘हामीले कुनै कसर बाँकी नराखी १३ औं साग सफलतापूर्वक सम्पन्न गर्न एकजुट हुनुछ’ राखेप सदस्य गुरुङले भने–‘हामीले कार्तिक १५ गते भित्र सबै पूर्वाधारका काम सक्न सबैको सहकार्य आवश्यक छ ।’
सो अबसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले १३ औं साग सम्पन्न गर्न सबैको सहकार्य र सक्रिय सहभागिता हुनुपर्ने कुरामा जोड दिए ।
बैठकमा कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष एवम नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङ, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिब शैलेन्द्र राउत, प्याराग्लाइडिङ प्रशिक्षक एवम नाका अध्यक्ष योगेश भट्टराई, नेपाल ह्याण्डबल संघका सचिब केशब पाठक, कास्की भारोत्तोलन संघका अध्यक्ष राजन बडगामी, कास्की ट्रायथलन संघका सचिब प्रकाश बराल, आर्चरी संघका योगन्द्र शेरचनले आ–आफ्ना धारणा राखेका थिए ।
बैठकमा प्याराग्लाइडिङका प्रशिक्षक भट्टराईले परिषदले प्रदान गरेको भत्ताको रकम उडानका लागि दैनिक आउँदा–जाँदा यातायतमानै खर्च भएको गुनासो गर्दै खेलाडीलाई सागमा उडानका लागि प्याराग्लाइडिङ इक्विप्मेन्ट, स्कोर बोर्ड डिभाइस जस्ता सामाग्रीहरु समयमानै उपलव्ध गराउन आग्रह गरे ।
२०७६ मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं साग खेलकुदमा महिला फुटबल, भलिबल, ह्याण्डबल, प्याराग्लाइडिङ, ट्रायथलन, भारोत्तोलन र आर्चरी गरि सात खेलहुने छन । तर कुनै पनि खेलका पूर्वाधारहरु सम्पन्न भइसकेका छैनन ।
