
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत गोरखा जिल्लामा भएको खर्च नदिने जनाए पछि सोको छानविन गरी भुक्तानी पाउन जिल्ला खेलकुद विकास समितिले अख्तियार र जिल्ला प्रशासन कार्यालय गुर्हाने भएको छ ।
भुक्तानीका विषयमा पत्रकार सम्मेलन र प्रेस विज्ञप्ती मार्फत राखेप र जिल्ला खेलकुदको दोहोरी चलिरहँदा समितिले बिहिबार पुनः पत्रकार सम्मेलन गरी अख्तियार र जिल्ला प्रशासन कार्यालय गोरखामा छानविन गर्न उजुरी दिने भएको हो । बुधबार खर्च भएको रकम नदिएको भन्दै जिल्ला खेलकुदले पत्रकार सम्मेलन गरी राखेपलाई अनुरोध गरे पनि राखेपले सोको जवाफमा जिल्ला खेलकुदले गरेको खर्च अनाधिकृत र झुठो रहेको दावी गर्दै भुक्तानी नदिने जनाएको थियो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गोरखामा बुद्धिचाल खेल सम्पन्न भएको र सोको जिल्लाको खेलकुदले नेतृत्वदायी भूमिका खेलेको जनाउँदै समितिका अध्यक्ष शान्तासिंह बस्नेतले जारी गरेको विज्ञप्तीमा भनिएको छ–“नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद आयोजक र प्रदेश खेलकुद परिषद गण्डकी सह आयोजक रहेको अवस्थामा हामी दुवै संस्था प्रति हामी उत्तिकै जिम्मेवार बन्दै प्रतियोगिता सम्पन्न गर्न अगुवाई ग¥यौं ।” समयमा रकम भुक्तानी नर्गदा समस्या उत्पन्न भएको बताउँदै असार ३१ गते सम्म भुक्तानी नआएमा आफूहरुले अख्तियार र जिल्ला प्रशासनमा छानविनका लागि उजुरी दिने उनले बताए ।
विज्ञप्तीमा गोरखामा कुन खेल आयोजना गर्ने विषयमा केही खेल संघका केन्द्रिय पदाधिकारीको टोली, राष्ट्रिय खेलकुद परिषद आयोजक समितिको टोली, परिषदकै बोर्ड सदस्यहरु, पत्रकारहरु गोरखामा पटक–पटक निरिक्षण भ्रमण गरेको र सो पटक पटक उनीहरुसंग जिल्ला खेलकुदले छलफल गरी लामो समयको प्रयास पछि बुद्धिचाल खेल गोरखाले प्राप्त गर्न सफल भएको जनाइएको छ ।
“खेलस्थलको व्यवस्थापन खर्च, पटक–पटक निरिक्षण भ्रमणका नाउँमा लावा लस्कर सहित गोरखा भ्रमणमा आएका टोलीको बसाई खर्च, खेलस्थल व्यवस्थापन गर्न खरिद गरिएका सामाग्रीहरुको भुक्तानी सबै खेल सकिए लगतै आयोजकले तिर्ने र सो को सम्पूर्ण खर्च विल भर्पाईहरु समेत पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति मार्फत राष्ट्रिय खेलकुद परिषदमा बुझाएको र क्षेत्रिय खेलकुदले समेत भुक्तानीका लागि सिफारिस गरेको थियो” विज्ञप्तीमा प्रश्न गर्दै भनिएको छ–“आफ्नै मातहतको कार्यालय क्षेत्रिय खेलकुद र कर्मचारीले सिफारिस गरेका विल भपााईहरु अन्तिम समयमा कसरी झुठो र अनाधिकृत भए त्यसको जवाफ राखेपले दिने की नदिने ?”
रकम भुक्तानीका लागि ताकेता गर्दा क्षेत्रिय खेलकुदले राखेपमा बुझाएको भर्पाइको फायल नै हराएको भनि गैर जिम्मेवारी जवाफ दिइएको जनाउँदै अन्तिम समयमा आएर भुक्तानीका लागि माग गर्दा अनाधिकृत र झुठो विल भर्पाई भनेर राखेपले आरोप लगाउनु दुश्हास टिप्पणी मात्रै भएको विज्ञप्तीमा उल्लेख छ । “खेलकुदकौ सर्वोच्च निकायले सोही संग सम्वन्धित कार्यालयलाई यस्तो गम्भिर आरोप लगाउनु राखेपको स्वेच्छारी र खेलकुद भित्र विशेष गरी नवौंं राष्ट्रिय खेलकुदमा भएको अनियमितता बाट जोगिन लगाइएको भनाई बाहेक केही होइन ।” विज्ञप्तीमा जनाइएको छ । रोखपले गोरखामा नवौं राष्ट्रिय खेलकुद भएको खर्चहरु नतिरी सम्पूर्ण गोरखाका आम खेलप्रेमीहरु, खेलाडीहरु, व्यवसायी र नागरिक समाजलाई समेत खेलकुद प्रतिको सदुभाव तोड्ने काम गरेको जिल्ला खेलकुदले विज्ञप्तीमा जनाइएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा गोरखामा भएको खर्च र स्थानियहरु संग सम्वाद गरी सत्य तथ्य पत्ता लगाई बिल भर्पाई पुनः एक पटक अध्ययन गरी यथासिघ्र भुक्तानी गर्न जिल्ला खेलकुद विकास समितिले आग्रह गर्दै भुक्तानी नगरेमा त्यसको जिम्मेवार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक समिति र राखेप स्वयं हुने विज्ञप्तीमा जनाइएको छ ।
