
पोखरा स्पोर्टस । नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवसमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी चैत १६ गते आफ्नो ६७ औं स्थापना दिवस मनाउन महासंघले पत्रकारबीच पहिलो पटक ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको हो । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको जनाएको छ । साथै, प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित हुने अन्य सयौं पत्रकारलाई समेत अन्तरक्रिया र संवादको अवसर दिने महासंघले विश्वास लिएको छ ।
चैतको दोस्रो साता हुने फुटसल प्रतियोगितामा १५ भन्दा बढी टिमका १५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने अपेक्षा महासंघले गरेको छ । दुई दिनसम्म चल्ने मिडिया कप फुटसल प्रतियोगितामा सञ्चार गृह, महासंघको प्रदेश र जिल्ला शाखाको साथै एसोसियट संस्थाहरूलाई सहभागिता जनाउन महासंघले अपिल समेत गरेको छ ।
