
पोखरा स्पोर्टस । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । दोश्रो दिन जारी खेलबाट आयोजक माछापुच्छ्रे गा.पा कास्की पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आयोजक टोली बोदीकाली गा.पा नवलपुर संग क्वाटरफाइनलमा पराजित भएको हो ।

यस्तै अन्य खेलमा गल्कोट न.पाले शुक्लागण्डकी न.पा तनहुँलाई, चापाकोट म.पा स्याङजाले ताराखोला गा.पा बाग्लुङलाई, चापाकोट न.पा स्याङजाले पुन निसीखोला गा.पा बाग्लुङलाई, कालीगण्डकी गा.पा स्याङजाले भिमाद न.पा तनहुँलाई, र अन्नपुुर्ण गा.पा कास्कीले रुपा गा.पा कास्कीलाई पराजित गर्दै आगामी यात्रा तय गर्न सफल भए ।
शुक्रबार गल्कोट र कालीगण्डकी विच भएको अन्तिम क्वाटर फाईनल खेल लाईट प्रोटेस्टका कारण स्थगित गरिएको छ ।
अन्तिम क्वाटर फाईनल खेल विजेताले अन्नपुर्ण गा.पा कास्की संग शनिवार हुने दोस्रो सेमिफाईनल खेलमा भिडनेछ भने पहिलो सेमिफाईनलको खेल वोदीकाली गा.पा र चापाकोट न.पा स्याङजा विच शनिवार हुने प्रतियोगिताका उप–संयोजक जापान गुरुङले बताएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०/५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना साथै ३ न वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा सुरु भएको प्रतियोगिताका फाइनल र सेमीफाइनलका खेलहरु भोली हुनेछन् ।
