
पोखरा, २५ असार । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा बिहिबार बाट गण्डकी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पोखरामा सुरु हुने भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बी शुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
क्षेत्रिय खेलकुद बिकास समितीले आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइए अनुसार प्रतियोगितामा भलिबल छात्र/छात्रा, एथलेटिक्स छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, उसु छात्र/छात्रा, कराते छात्र/ छात्रा, र तेक्वान्दो छात्र/ छात्रा, गरि ९ सय १३ जना खेलाडी र १ सय ३२ जना निर्णायक तथा अफिसियलहरु गरि कुल १ हजार ४५ जनाको सहभागीता रहने छ ।
प्रतियोगितामा मेडलका आधारमा प्रथम हुने जिल्लालाई नगद रु. २० हजार सहित गण्डकी प्रदेशको राष्ट्रपति रनिङ्ग शिल्ड, दोश्रो हुने जिल्लालाई नगद १५ हजार ट्रफी र तेश्रो हुने जिल्लालाई नगद १० हजार र ट्रफि सहित पुरस्कार व्यवस्था गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठले जनाएका छन । विधागत खेलमा प्रथम द्वितिय र तृतीय हुने जिल्लाहरुलाई ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराते, तेक्वान्दो र उसु खेलका विभिन्न इभेन्टस तथा तौल समुह गरि ४८ स्वर्ण ४८ रजत र ६० कास्य गरि कुल १ सय ५६ पदकमा प्रतिस्पर्धा हुनेछ क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले जानकारी दिए ।
कार्यक्रममा क्षेत्रिय खेलकुदका डिबी नेपाली, जिल्ला खेलकुदका कोषाध्यक्ष दिपक बहादुर गोदार लगाएतले बिहिबार बाट शुरु हुने प्रतियोगिताका बारे प्रकाश पारेका थिए ।
