
पोखरा स्पोर्टस । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’मा सहभागि हुने टिमको टुङ्गो लागेको छ ।
खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ देखि ६ गते सम्म पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा सहभागि हुने टिमको टुङ्गो लागेको हो ।
प्रतियोगितामा ६ महिला र ६ पुरुष गरी कुल १२ टिमको सहभागिता रहने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।
चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लव पोखरा आउने भएको छ । हरियाणाको पुलिस टिम नै पोखरा आउने भए पछि खेल रोचक हुने संस्थाका सचिव डिवी नेपालीले जनाएका छन् । उनले भने–“टाइगर कपमा सहभागिता जनाउन धेरै क्लवहरुले आग्रह गरेका थिए । तर हामीले उनीहरुको टिमको प्रदर्शनको आधारमा यहाँ खेल्न निम्तो दएका छौं ।”
पुरुषतर्फ समेत् श्रीलंकाको आर्मी टिमले सहभागिता जनाउने भए पछि चौथो टाइगर कप थप रोमाञ्चपूर्ण हुने भएको छ । श्रीलंकन अर्माी टिम पहिलो पटक नेपाल आउन लागेको हो ।
त्यसै गरी महिलातर्फ चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, आयोजक गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
यस्तै पुरुषतर्फ सहभागि हुने हेल्प नेपाल स्पोर्टस क्लवले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । आयोजक टिम गण्डकीले आफ्नो उपाधि रक्षाका लागि विदेशी खेलाडी भित्राउने तयारी गरिरहे पनि त्यसको टुङ्गो भने १–२ दिनमा लाग्ने अध्यक्ष शर्माले जनाएका छन् । पुरुषतर्फ तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
‘चौथो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
त्यसै गरि उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५५५ प्राप्त गर्नेछन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए ।
नेपाल भलिबल संघको स्विकृतीमा आयोजना हुने उक्त प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, स्थानियतहका सरकारहरुलगायतको सहयोग र सहकार्य रहने छ ।
प्रतियोगिता सफल बनाउन देशविदेशमा रहेका सम्पूर्ण भलिबल प्रेमीहरुलाई सहयोगका लागि अध्यक्ष शर्माले आह्वान गरेका छन् ।


