टाइगर कप भलिबल : डिफेन्डिङ च्याम्पियन एपिएफको पहिलो जित

पोखरा स्पोर्टस । डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपिएफ क्लबले महिलातर्फको पहिलो खेलमा जित हासिल गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकालेको हो ।

चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ ।

पहिलो सेट २५–१८ र दोश्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेश्रो र चौथो सेट भने गुमाउन पुग्यो । तेश्रो र चौथो सेटमा टिम कम्विनेसनको अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन पुग्यो ।

सम्पन्न पहिलो खेलमा एपिएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भइन् ।

नेपाल भलिबल संघको स्विकृतीमा सुरु भएको चौथो टाइगर कपमा प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सोमबार दिउसो २ बजे गर्नेछन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सोमबार महिलातर्फको दोश्रो खेल त्रिभुवन आर्मी क्लव र चन्द्रागिरी नगरपालिका न्यू डायमण्डका बिच हुनेछ । पुरुषतर्फको पहिलो खेल मध्यान्ह साढे १२ बजे दुई विभागिय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबका वबच हुनेछ भने सो खेल लगतै उद्घाटन खेल सुरु हुनेछ । प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close