एक वर्ष पछि १३ औं सागको हिसाव सार्वजनिक, १ अर्व ३१ करोड भन्दा वढी खर्च

पोखरा स्पोर्टस । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ठिक एक वर्ष पछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले हिसाव सार्वजनिक गरेको छ ।

सागको विधान अनुरुप साग सम्पन्न भएको ३ महिनामा हिसाव सार्वजनिक गर्नुपर्ने भएपनि राखेपले एक वर्ष पछि हिसाव सार्वजनिक गरेको हो । काठमाडौ, पोखरा र जनकपुरमा गरि गत वर्ष २०७६ मंसिर १४ देखि २४ गते सम्म भएको सागमा राखेपले १ अर्व भन्दा वढी खर्च भएको हिसाव सार्वजनिक गरेको हो । सार्वजनिक खर्च विवरण अनुसार साग खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया खर्च भएको जनाइएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिबले हिसाव सार्वजनिक गर्दै यस्तै पुर्वाधार निर्माणतर्फ हालसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको जानकारी दिनुभयो । यस्तै सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय टोलीलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख बैशाख पहिलो सातासम्म सम्बन्धितकै खातामा पठाइसकेको समेत उहाँले जानकारी दिनुभयो ।

सागका लागि ५ अर्ब ६९ करोड बजेट प्रस्ताव गरिएकोमा सरकारले ३ अर्ब ६५ करोड विनियोजन भएको गरेको थियो । सागमा सरकारबाट १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५, विज्ञापनबाट २० लाख ९ हजार ९ सय १५ र सहभागी राष्ट्रबाट १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैया आय भएको सदस्यसचिव सिलवालले जानकारी दिनुभयो । त्यस्तै खर्चतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ भने यस्तै ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ बैंक मौज्दात रहेको तथा १ करोड ९३ लाख ८० हजार २ सय २४ फ्रिज भएको राखेपले जनाएको छ ।

ब्याडमिन्टन म्याट, कबड्डी म्याट, बास्केटल म्याट, टेबल टेनिस म्याट र पदक, किट्ससम्बन्द्ध केही सामग्रीमा ४ करोड ८१ लाख ३० हजार सहयोग स्वरुप प्राप्त भएको राखेपले जनाएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा २ हजार ७ सय ४६ जना खेलाडी, ९ सय ६ जना अफिसियल सहभागी मध्ये नेपालका तर्फवाट खेलाडी तथा अफिसियल गरि ८ सय ३१ जनाले सहभागिता जनाएका थिए । नेपालले १३ औं सागमा सर्वाधिक ५१ स्वर्ण, ६० रजत तथा ९६ काश्य पदक जितेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close