सहारा युकेको अध्यक्षमा ले.रि.कुशाङ गुरुङ सर्वसम्मत निर्वाचित

पोखरा स्पोर्टस । सहारा क्लव पोखराको भातृ संस्थाको रुपमा युकेमा स्थापित सहारा युकेको अध्यक्षमा ले.रि.कुशाङ गुरुङ निर्वाचित भएका छन् ।

सहारा युकेको शनिवार सम्पन्न १३ औं साधारण सभा तथा छैटौं अधिवेशनले आगामी (२०२२–२०२३) दुई वर्षका लागि उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । यसै गरी सम्पन्न अधिवेशनले उपाध्यक्षमा कृष्ण गुरुङ र मनोज गुरुङलाई महासचिवमा निर्वाचित गरेको छ भने नेपाल प्रहरीका पूर्व डिएसपी समेत रहेका वाचस्पती रेग्मीले सचिव पदमा निरन्तरता पाएको सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

त्यसै गरी सम्पन्न अधिवेशनले कोषाध्यक्षमा कुमार थापा, सहकोषाध्यक्षमा जगन गुरुङ, सहारा एफसी चेयरमेनमा सारदा गुरुङ, सहारा एफसीको सिइओमा क्या.रि.पिताम्वर गुरुङ, स्पोर्टस सेक्रेटरीमा अनिल गुरुङ र यूवा खेलकुद संयोजकमा सन्दिप उपाध्यायलाई सर्व सम्मत निर्वाचित गरेको छ ।

सातौं अधिवेशनले कार्यसमितीको सदस्यमा मिलन गुरुङ (फोटो पत्रकार), पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ राई, सुधा गुरुङ, मेघ गुरुङ, प्रेम गुरुङ, सम्शेर गुरुङ, दल गुरुङ, ध्रुव गौतम र सूर्य गुरुङ सर्वसम्मत निर्वाचित भएको सहारा यूकेले जनाएको छ ।

को हुन नव निर्वाचित अध्यक्ष ले.रि.कुशाङ गुरुङ

सहारा युकेको सातौं अधिवेशनले निर्वाचित गरेको ले.रि.कुशाङ गुरुङ किर्तिमानधारी धावक हुन् । पर्वतको ठानामौलामा दिल बहादुर गुरुङ र माता धनसिरी गुरुङको कोखमा पहिलो सन्तानको रुपमा जन्मिएका उनी भद्र, शालीन व्यक्तित्वका रुपमा परिचित छन् । उनी विश्वकै एकदमै कठिन मानिएको मलेशियाको कोटाकिनाबालु दौड प्रतियोगितामा सन १९९१ देखि १९९३ सम्म तीन पटक लगातार जितेर किर्तीमान बनाउँदै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा दर्ज छन् । उनको रेकर्ड अहिले सम्म कसैले तोडन सकेको छैन ।

सन १९८३ मा बेलायती सैनिक सेवामा भर्ना भएका उनी बृटिश फोर्सेस हंगकंग क्रस कन्ट्री बिजेता (१० पटक भन्दा बढी), बृटिश फोर्सेस खुद रेस बिजेता, ब्रिटिश आर्मी क्रस कन्ट्री समुह स्वर्ण पदक, बृटिश आर्मी एथ्लेटिक्स समुह स्वर्ण पदक, फोर पिक रेस हंगकंग किर्तिमानी समय सहित स्वर्ण पदक, अन्तर्राष्ट्रिय एभरेष्ट म्याराथन रजत पदक जितेका छन् भने यस बाहेक १२ वटा म्यारथन दौड तथा २३ वटा हाफ म्याराथन पुरा गरेका छन् ।

किर्तिमानधारी धावक तथा समाजसेवी गुरुङ करिव एक दर्जन संघ–संस्थामा रहेर खेलकुद र सामाजिक अभियानमा बेलायतमा नै रहेर सक्रिय छन् भने तमु धिं सहित विभिन्न सामाजिक तथा खेलकुदका संस्थामा सल्लाहकारको भूमिका छन् । बिशेषगरी लामो दौड र गल्फ खेल्न मन पराउने उनी धर्मपत्नी पन्च कुमारी गुरुङ, छोरा कुन्जन र छोरी प्रिप्ती सहित हाल युकेको क्याम्बर्लीमा बस्दै आएका छन् । उनी यस अघि सहारा युकेको उपाध्यक्ष रहेका थिए ।

सहारा युकेको १३ औं साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न गर्न सहारा युकेका संस्थापक सल्लाहकार तथा सहारा क्लवका मानार्थ सदस्य महेश गुरुङको संयोजकत्वमा समिती गठन गरेको थियो । जसको सदस्यमा सहारा युकेका सल्लाहकार तथा सहारा क्लवका मानार्थ सदस्य लोक गुरुङ र सहारा युकेका सल्लाहकार तथा पूर्व एफसी चेयरमेन हरि कुमार श्रेष्ठ रहेका थिए ।

सहारा युके अवार्ड २०२१ धनु पुरन थकालीलाई
सहारा युकेले हरेक वर्ष प्रदान गर्दै आएको सहारा युके अवार्ड यो वर्ष मरणोपरान्त धनु पुरन थकालीलाई प्रदान गरिएको छ । सहारा युकेको महासचिव पदमा कार्यरत रहेकै वेला उनको यहि वर्ष गत असोज २१ गते उपचारको क्रममा ५२ वर्षको उमेरमा बेलायतमा निधन भएको थियो । उनले सहारा युकेको हरेक गतिविधी तथा कार्यक्रमहरुलाई सफल बनाउन उल्लेखनिय भुमिका खेलेका थिए ।

सहारा युकेद्वारा सन २०१९–२०२१ का लागि पूर्व अध्यक्ष दिलिप गुरुङ ‘एमविइ’को संयोजकत्वमा गठित अवार्ड कमिटीले उनलाई मरणोपरान्त सहारा युके अवार्ड २०२१ बाट सम्मान गर्ने निर्णय गरेको थियो । उक्त कमिटीमा सहारा युकेका अध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष ले.रि.कुशाङ गुरुङ, सचिव बाचस्पती रेग्मी, संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्व अध्यक्ष मिन गुरुङ र संस्थापक सल्लाहकार महेश गुरुङ रहेका थिए ।

सहारा युकेले आफ्नो कार्यसमिती भित्र रहेर उल्लेखनिय योगदान गर्ने सदस्यहरुलाई हरेक वर्ष सहारा युके अवार्ड र सहारा युके स्पेसियल अवार्डबाट सम्मानित गर्दै आइरहेको छ । अहिले सम्म सहारा युके अवार्डबाट १२ जना तथा सहारा युके स्पेसियल अवार्डबाट ६ जना सम्मानित भएका छन् । सहारा युकेका संस्थापक नविन गुरुङलाई भने लामो समय अध्यक्षको पदमा रहेर भूमिका खेलेको भन्दै सन २०१४ मा ‘लङ्ग स्टान्डिङ प्रेसिडेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।

सहारा युकेमा को–को भए अध्यक्ष
सन २००८ मा गठित सहारा युकेको संस्थापक अध्यक्ष नविन गुरुङ रहेका थिए । उनले ६ वर्ष सम्म सहारा युकेको अध्यक्षको कार्यभार सम्हालेका थिए । हरेक दुई वर्षमा सहारा युकेको अधिवेशन बाट सन २०१५–२०१६ को अध्यक्षमा दिलिप गुरुङ ‘एमविई’, २०१७–२०१८ को अध्यक्षमा मिन बहादुर गुरुङ, २०१९–२०२१ को अध्यक्षमा कुमार गुरुङले नेतृत्व सम्हालिसकेका छन् । नव निर्वाचित ले.रि कुशाङले सातौं कार्यसमितीको रुपमा सन २०२२–२०२३ का लागि अध्यक्ष पदमा रहेका नेतृत्व सम्हाल्ने छन् । स्मरणिय के छ भने विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गत वर्ष अधिवेशन सम्पन्न हुन सकेको थिएन ।

यस अघि १३ औं साधारण सभा छैटौ अधिवेशनको उद्घाटन अध्यक्ष कुमार गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा सहारा यूकेका संस्थापक सल्लाहाकार तथा सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ र पूर्व अध्यक्ष मिन बहादुर गुरुङले शुभकामना व्यक्त गर्दै आगामी दिनमा सहारा युकेले खेल्नु पर्ने विभिन्न विषयमा आफ्ना भनाई राखेका थिए ।

अधिवेशनमा अध्यक्ष कुमार गुरुङले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, सचिव वाचस्पती रेग्मीले प्रस्तुत गरेको सचिवको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सारदा गुरुङ द्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन, सहारा एफसीका चेयरमेन कृष्ण गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा विधान संसोधन समितीद्वारा प्रस्तुत विधान संसोधन प्रस्तावलाई सर्व सम्मतरुपमा पारित गरेको छ ।

सो अवसरमा सहारा युकेका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको १३ औं साधारण सभा छैटौ अधिवेशनलाई सम्वोधन गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरेका छन् । साथै उनले सातौं कार्यकालका निर्वाचित अध्यक्ष ले.रि.कुशाङ गुरुङ सहितको टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफू सँधै सहाराको अभियानमा संगै हिड्ने प्रतिवद्धता व्यक्त गरे ।
तस्विरः मिलन गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close