
पोखरा स्पोर्टस । पोखरामा सामाजिक क्षेत्रमा कृयाशिल डुुलुवा टोलीले पर्वतको एक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

टोलीले पर्वतस्थित पालुस्थान मावी बेउलिबासलाई शैक्षिक तथा खेल सामग्री प्रदान गरेको जनाएको हो । सो कार्यक्रमका संयोजक समेत रहेका योगेश भट्टराईले कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न खेलकुद र शैक्षिक सामग्री प्रदान गरेको जनाएका छन् ।
पैयुँ गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष रानाले टोलीले आफ्नो पालिकाको विद्यालयका विद्यार्थीहरुलाई गरेको सहयोग प्रति सर्हाना गरेकी छन् । उनले भनिन–“यस्तो निश्वार्थ सेवा भावले गरिएको सहयोगले विद्यार्थीहरुमा थप उर्जा प्रदान हुनेछ । म सहयोगी टिमलाई आभार व्यक्त गर्न चाहन्छु ।” उनले विद्यालय सुधारका लागि पालिकाले अन्य कार्यक्रमहरु समेत अघि सारेको उल्लेख गरिन् ।
सो अबसरमा आफ्ना भनाई राख्दै विद्यालयका प्रधान अध्यापक पूर्णचन्द्र काफ्लेले डुलुवा टोली प्रति आभार व्यक्त गर्दै सहयोगले विद्यार्थीहरुको अध्ययन अध्यापनमा समेत सुधार हुने बताए ।
डुलुवा टोलीका अध्यक्ष सुनिल भट्टराईले आफ्नो टोलीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका कार्यक्रमहरु अघि सारेको बताउँदै यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुको शैक्षिकस्तरमा वृद्धि गर्न सहयोग पुग्ने बताए । उनले आगामी दिनमा समेत यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
कार्यक्रम संयोजक योगेश भट्टराईले विद्यालयप्रति आभार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले आफ्नो टिमलाई आगामी दिनमा सामाजिक सेवामा लाग्ने थप हौसला प्राप्त हुने उल्लेख गरे ।
