लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता- प्रिन्स र जेशिका फाईनलमा

पोखरा स्पोर्टस । नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ फाईलमा प्रवेश गरेका छन् ।

नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकलको सेमिफाईनलमा पुलिसका प्रिन्सले त्रिभुवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । अव उपाधीका लागि प्रिन्सले आर्मीका प्रफुल महर्जनसंग प्रतिस्पर्धा गर्ने छन् । प्रफुलले पुलिसका बिष्णु कटुवाललाई २१–१८, २१–७ ले पराजित गरेका थिए । हालै ईटहरीमा भएको प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधी उचालेका थिए ।

यस्तै महिला शिर्ष १२ बरियता भित्रको एकल तर्फ प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताकी उपाधी विजेता एपिएफकी जेशिका गुरुङले पुनः एक पटक राष्ट्रिय च्याम्पियन रसिला महर्जनलाई पराजित गर्दै फाईनल प्रवेश गरेकी छिन् । जेशिकाले आर्मीकी रसिलालाई १४–२१, २१–१६, २१–१२ ले पराजित गर्दै फाईनलमा आर्मीकी अनुमाया राई संगको भेट पक्का गरेकी हुन् । अनुले फाईनल प्रवेश गर्ने क्रममा आर्मीकै प्राथना देउवालाई २१–१२, २१–११ ले पराजित गरेकी हुन् ।

पुरुषको शिर्ष १६ बरियता देखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेप र एपिएफका सुजन थापा उपाधी नजिक पुगेका छन् । पविनले आर्मीकै हिमाल चन्दलाई २१–१९, १३–२१, २१–१९ ले तथा थापाले एपिएफकै प्रनिश सिंह ठकुरीलाई २१–१८, १७–२१, २१–६ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।

महिला शिर्ष १२ देखि बाहेकको एकल तर्फको खेलमा आर्मीकी बिष्णा बिष्टले पाँचथरकी रिना तामाङलाई २१–१५, २१–१३ ले पराजित गर्दै फाईनल प्रवेश गरेकी छिन् । अव उपाधीका लागि बिष्णाले झापाकी अन्जना राई संग प्रतिस्पर्धा गर्नेछिन् । राईले आर्मीकी टिशा रानी शाक्यलाई २१–६, २१–१३ ले पराजित गर्दै उपाधी निकट पुगेकी हुन् ।

पुरुष यु १७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउद र आर्मीका अनिल मल्ल विच उपाधीका लागि प्रतिस्पर्धा हुने भएको छ । रोशनले आर्मीका कविर के.सी.लाई २१–१३, १९–२१, २१–१५ ले तथा मल्लले दाङका सनौला रैनीलाई २१–१५, २१–१५ ले पराजित गर्दै फाईनल यात्र तय गरेका हुन् ।

महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले कास्कीकी निभा राईलाई २१–१४, २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी टिशा रानी शाक्य संगको भेट पक्का गरेकी छिन् । शाक्यले ताप्लेजुङ्गकी नुमा लिम्बुलाई २१–१९, २१–११ ले पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् ।

पुरुष युगल तर्फको खेलमा एपिएफका बिजीत थापा मगर र पुलिसका जीवन आचार्यको जोडी फाईनल प्रवेश गरे । मगर र आचार्यको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १५–२१, २१–१९, २१–१३ ले पराजित गर्दै उपाधीका लागि पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल संगको भेट पक्का गरेका हुन् । कटुवाल र दाहालको जोडीले कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

महिला युगल तर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी फाईनल प्रवेश गरेको छ । आर्मीकी रशिला महर्जन र अमिता गिरीको जोडी तथा आर्मीकी बिष्ण बिष्ट र कैलालीकी निलिमा महराको टिम खेल खेल्न असमर्थ भए पश्चात शोभा र निताले स्वतः फाईनल यात्रा तय गरेका थिए । अमिता गिरी र निलिमा महरा खेलका दौरान खुट्टामा चोट बोक्न पुगेका कारण खेल खेल्न असमर्थ भएका थिए ।

महिला एकल तर्फकै अर्को खेलमा आर्मीका प्राथना देउवा र अनुमाया राईको जोडी फाईनल प्रवेश गरे । देउवा र राईको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१९, २२–२० ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् । पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा काठमाण्डौका संजय कपाली र श्याम लामाको जोडीले सुनसरीका भजनलाल चौधरी र ईटहरीका सन्त तामाङलाई २१–१५, २१–१५ तथा कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेले बेलबारीका दीपक आङ्गदम्बे र मोरङका बिकास श्रेष्ठको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

पुरुष ५५ बर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडीले जित हात पार्दै फाईनल प्रवेश गरेका छन् । राम र संजयको जोडीले बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडीलाई २१–१९, २१–११ ले पराजित गरेका हुन् । अर्को खेलमा कास्कीका रमेश भट्टचन र खोटाङ्गका दीपक राईको जोडीले सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडीलाई २१–१५, १०–२१, २३–२१ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

प्रतियोगिताको फाईनल खेल बिहान ९ बजे बाट सुरु हुने कार्यक्रम रहेकोछ । पहलो खेल महिला यु–१७ को हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close