
पोखरा स्पोर्टस । युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तराष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच आज भेटवार्ता भएको छ । आज नेपाल आइपुगेकी कसाडो र मन्त्री श्रेष्ठबीच युवा तथा खेलकूद मन्त्रालयमा भेट भएको हो ।
भेटमा नेपाली ट्रायथलनको विकासका लागि छलफल भयो । यस्तै ट्रायथलनको विकासको लागि हुन सक्ने सहयोग र संभावनाको विषयमा पनि कुराकानी भएको थियो । यस्तै अन्तर्राष्ट्रिय लगानी, खेल पर्यटनको प्रचुर सम्भावनाको विषयमा पनि छलफल भएको छ ।
कसाडो पछिल्लो १६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष पदमा रहेकी छिन् । उनको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनी १० वर्ष अगाडि नेपाल आएकी थिइन् ।
उनी शनिबार पोखरामा हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसपमा सहभागी हुने छिन् । सो च्याम्पियनसिपमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागीता रहने छ । विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि शुक्रबार नेपाल आइपुग्ने छन् ।
सदस्य–सचिव र मारिसोलबीच भेट
यसै बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ ।
त्रिपुरेश्वरस्थित राखेपका सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको भेटमा दुई पक्षबीच नेपाल र विश्वमा ट्रायथलनको अवस्था बारे छलफल भएको थियो ।
भेटका अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले नेपालमा ट्रायथलन खेलको विकासका लागि विश्व ट्रायथलन महासंघबाट सहयोगका लागि आग्रह गरेका थिए ।
