
पोखरा स्पोर्टस । नेपालको फुटबल इतिहासमा पहिलो पटक शहिद स्मारक राष्ट्रिय फुटबल लिग अन्तर्गत परिक्षण स्वरुप हुन लागेको होम एण्ड अवे म्याचका लागि पोखरा रंगशाला फुटबल स्टेडियम मैदानको सरसफाई तथा सम्भारको काम अघि बढेको छ ।
कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा पोखरा स्टेडियममा मैदानको सम्भार तथा सरसफाईको कार्य शुरु गरिएको कास्की जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले पोखरा स्पोर्टसलाई बताएका हुन् । उनले भने–“हामीले मैदानको घाँस मिलाउने, रोप्ने, पानी हाल्ने, माटो फिलिङ गर्ने, घाँस उर्मान भिटामिन र मलको प्रयोग गरेका छौं ।” उनले दैनिक १५ जना कामदार मैदान सम्भारका लागि खटाएको समेत बताए ।
अध्यक्ष गुरुङले मैदानको सरसफाइको काम भोली देखि सुरुवात गर्ने बताउँदै भिआइपी प्यारापिट र दर्शकतर्फको प्यारापिटको सम्पूर्ण सरसफाई गरिने बताए । उनले भने–“एन्फा कास्कीले पोखरामा लिग अन्तर्गत हुने प्रतियोगितालाई भव्य बनाउने तयारी गर्दैछौ तर रंगशाला निर्माणको काम जारी नै रहेकोले चेन्जिङ रुम भने वहुउद्धेश्यिय कभर्ड हलको प्रयोग गर्नुपर्ने भएको छ ।” रंगशालाको चेन्जिङ रुम तयार भए पनि त्यस भित्रको शौचालयको निर्माण कार्य भने सकिएको छैन ।
पोखरा रंगशालाको वोरिङ समेत विग्रीएकोले यति बेला पोखरा रंगशालामा पानीको अभाव भईरहेको अध्यक्ष गुरुङले बताए । “हामीले यतिबेला दैनिक ७/८ ट्याङ्कर पानी बाहिर बाट मगाएका छौं, यसले थप आर्थिक भार समेत थपिएको छ” उनले भने–“वोरिङ मर्मत गर्न सके मैदान र सरसफाईका लागि सहजता हुने थियो ।” एन्फा कास्कीले समेत आफूले गर्दै आएको गोल्डकपलाई निरन्तरता दिने सोच बनाइरहेको बताउँदै अध्यक्ष गुरुङले रंगशालाको चेन्जिङ रुम लगायतका कार्य छिटो सकिए सहजता हुने बताए ।
नेपालकै ठूलो १६ हजार ५ सय दर्शक क्षमताको पोखरा रंगशालालाई नेपाली राष्ट्रिय क्लव मनाङ मर्स्याङदी (एमएमसी)ले होम ग्राउण्डका रुपमा रोजे पनि यो वर्ष भने परिक्षणका लागि ३ खेल खेलाइने नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार सहिद स्मारक लिग अन्तर्गत यहि वर्ष बाट होम एन्ड अवेका आधारमा गर्ने भनिए पनि सहभागी केही क्लवहरुको तयारी नपुगेका कारण अर्को वर्षका लागि सारिएको बताए । उनले भने–“यो वर्ष पोखरा होम एन्ड अवेको पूर्व तयारी स्वरुप परिक्षण गर्न पोखरालाई भेन्यूका रुपमा छानेका हौं ।”
आहा रारा गोल्डकपमा धेरै पटक उपाधि उचालेको एमएमसी पोखरेली फुटबल प्रेमीहरुको लोकप्रिय टिम समेत हो । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको पोखरा रंगशालाका लागि एमएमसीले सम्झौता गरिसकेको भए पनि यो वर्ष होम एन्ड अवेका आधारमा खेल नहुने भए पछि प्रतियोगिता अन्तर्गत तिन खेलमा विपक्षी टिम संग भिड्ने छ । आहा रारा र मनकामना गोल्डकपमा मनाङले आफ्नो क्षमता पदर्शन गरे पनि शहिद स्मारक अन्तर्गत हुने प्रतिष्पर्धा उसका लागि पनि परिक्षणकालनै हुनेछ ।
राजधानी भन्दा बाहिर पहिलो पटक भेन्यूका रुपमा पोखरा रंगशालामा पुषको ३ गते एमएमसीले नेपाल पुलिस क्लवको सामना गर्नेछ । आहा रारामा धेरै पटक आमने सामने भएका यि दुई टिमको प्रतिष्पर्धा रोचक हुने आकंलन गर्न सकिन्छ । त्यसै गरी प्रतियोगिता अन्तर्गत पुषको १७ गते हुने दोश्रो खेलमा एमएमसीले काठमाडौंको व्रिगेड ब्वाइज क्लव र त्यसको एक साता पछि पुष २४ गते एमएमसी काठमाडौंको च्यासल संग पोखरा रंगशालामा भिड्ने छ ।
विश्व महामारीका रुपमा त्रासका रुपमा कोभिड १९ का प्रोटोकलहरु अपनाउँदै पोखरेली दर्शकहरुले समेत शहिद स्मारक लिग आफ्नै घर आङनमा अवलोकनको अवसर भने पाउने भएका छन् ।
