मुस्ताङ गल्फ च्यालेञ्जको उपाधि श्यामले जिते

पोखरा स्पोर्टस । दोस्रो मुस्ताङ गल्फ च्यालेन्जको उपाधी डिफेण्डिङ च्याम्पियन श्याम तामाङले जितेका छन् । ९ होल ३६ पारमा भएको खेल श्यामले एक अण्डर १९ अंकका साथ उपाधी जितेका हुन् । शनिबार सर्वाधिक उचाई ४६४५ मिटरमा भएको खेलमा पोखरेली गल्फर लिलाजंग गुरुङ दोस्रो भएका छन् । उनले लेवलपार १८ अंक जोडे ।

प्रतियोगितामा महिलातर्फ पोखरकै जुनी गुरुङ विजयी भएकी छिन् । उनले १५ स्कोर गर्दा काठमाडौंकी गल्फर सुस्मा सिंह १३ अंकका साथ दोस्रो भइन् । रविन राना ग्रस च्याम्पियन भएका छन् । समान अंक जोडेका याम राना र पीवी राईलाई ब्याक काउण्टमा रवीनले हराएका हुन् । तीनैजनाले ११ अंक जोडेकोमा अन्तिम होलमा रविनले २ अंक जोडेपछि उपाधीको छिनोफानो भएको हो ।

सर्वाधिक बर्डीजको उपाधी आत्मराम सिंखडाले जिते भने लंगेष्ट ड्राइभ माधव सिंखडाले हिर्काए । सिनियर तर्फको पुरस्कार भने पोखराका बलराम थापाले पाए । ६१ वर्षका थापाले १६ स्कोर गरेका थिए । उनी गतवर्षको उपविजेता हुन् ।

४ हजार ६ सय ४५ मिटरको उचाईको कोर्षमा भएको प्रतिस्पर्धामा तामाङले ९ होलमा १९ स्कोर बनाए । उनले एक अण्डर खेल्दै उपाधि उचाल्दा पोखराका लिलाजंग भने १८ अंकसहित दोस्रो स्थानमा चित्त बुझाए । लिलाजंगले लेभलपार १८ को स्कोर बनाएका थिए । २४ पुरुष गल्फर सहभागिता रहेको प्रतिस्पर्धाको ग्रस तर्फ रविन राना च्याम्पियन बने । उनले पोखराका याम रानालाई पछाडि पारे । क्लोजेष्ट टु दी पीन मेजर विजय लामाले पाए । होल इन वान कसैले पनि जित्न सकेन । होल इन वानका लागि घोडा र ५० कार्टुन स्याउ पुरस्कार राखिएको थियो ।

२४ पुरुष र ४ महिला गरी २८ गल्फर सहभागी खेल स्टेवल फोर्ड फमर्याटमा खेलाइएको थियो । अघिल्लो वर्ष निर्माण गरिएको कोर्सलाई विश्व गिनिज बुकमा रेकर्ड गराउने प्रयास गरिएको छ । त्यसैका लागि मुस्ताङ गल्फ कोर्स दर्ता गरेर जग्गा प्राप्तीको प्रक्रिया थालिएको म्यानेजिङ डाइरेक्टर तथा पुर्व सांसद इन्द्रधारा विष्टले जानकारी दिए । उनले नेपालमा नयाँ पहिचान थप्ने सपना अनुसार काम गरिरहेको बताए । ‘सर्वोच्च शिखर सगरमाथा र लुम्बिनीसँगै विश्वले अव सर्वाधिक उचाईमा रहेको गल्फ कोर्स रहेको भूमि का रुपमा पनि नेपाललाई चिन्नेछ,’ उनले भने, ‘त्यसैलाई सघाउन प्रबद्र्धनात्मक गल्फ प्रतियोगिता गरिएको हो ।’

प्रतियोगिताका विजयी खेलाडीहरुलाई विष्टसँगै लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हुर्वु गुरुङ, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्रकुमार कार्की लगायतले ट्रफी वितरण गरेका थिए । गल्फलाई व्यवस्थित सञ्चालन गर्न गल्फ संघका केन्द्रीय सदस्य भुवन गुरुङ सहितको प्राविधिक टोली १ साताअघि नै लोमान्थाङ आइपुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close