कास्की जिल्ला टेनिस संघको अध्यक्षमा लोक गुरुङ निर्विरोध निर्वाचित (फोटो फिचर)

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको अध्यक्षमा लोकबहादुर गुरुङ्ग निर्विरोध निर्वाचित भएका छन ।

संघको शनिबार पोखरामा सम्पन्न चौंथो अधिवेशन तथा सातौं साधारण सभाले गुरुङ्गको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा राजु गुरुङ्ग, द्वितिय उपाध्यक्षमा नविन चालिसे, सचिवमा नविन श्रेष्ठ तथा कोषाध्यक्षमा अनुज कुमार बाँस्तोला चयन भएका छन ।

यसै गरी कार्य समितिको सदस्यहरुमा प्रिती बराल, राजकुमार घिमिरे, लक्ष्मण बराल, भिष्मराज पौडेल, प्राञ्जल कायस्थ, माधव भण्डारी, शान्ती उदास, मनिका थापा, विरेन्द्र लामा र विष्णुबहादुर थापा निर्विरोध चयन भएका छन ।

यसअघि पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं समाजसेवी गणेशबहादुर भट्टराईले अधिवेशनको उद्घाटन गर्दै खेलकुदमा बढ्दो राजनितिक हस्तक्षेपले खेलकुदमा विकृती बढ्दै गएको बताउँदै खेलाडी राष्ट्रका गहना भए पनि राष्ट्रले पनि पहिचान गर्न बाट चुकेको बताए ।  उनले छोटो समयमा नेपाली टेनिस खेलको विकासले गति लिएको बताउँदै भने–“कुनै बेला राजाको दरवारको एक कुनामा खेलिने टेनिस यति बेला राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पदक जित्न सक्ने युवा खेलाडी उत्पादन भएका छन ।”

कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङले खेलकुदको विकास नभई समृद्धिको कल्पना गर्न नसकिने बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न खेलकुदको अपरिहार्यता बढ्दै गएको उल्लेख गरे । सदस्य सचिव गुरुङले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारी संगै पोखरा रंगशालामा खेलाडीका लागि स्वास्थ्य केन्द्र स्थापना समेत गरिने बताउँदै भने–“नेपालको हरेक क्षेत्रले संघियताको महशुस गरिरहेको बेला खेलकुदमा संघियता लागु हुन नसक्नु दुःखद छ ।”

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा टेनिस खेलले थुप्रै अन्र्तराष्ट्रिय खेलाडी भित्राइसकेको बताउँदै खेल र पर्यटनलाई संगसंगै लैजानुपर्नेमा जोड दिए । त्यस्तै, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले संघ बलियो भए समिति पनि बलियो हुने भन्दै संघका कृयाकलापलाई अगाडी लैजान सदैव हातेमालो गर्न तत्पर रहेको बताए ।

उद्घाटन समारोहमा संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ, सल्लाहकारद्वय बसन्त प्रधान र सूर्यबहादुर भुजेल, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमखु प्रकाश बराल, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वअध्यक्ष विनोद लामिछाने लगायतले शुभकामना व्यक्त गरेका थिए । समितिका निवर्तमान अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सचिव नविन चालिसेले संघका गतिविधीबारे प्रकाश पारेका थिए ।

अधिवेशनकै अवसर पारेर कास्की जिल्ला टेनिस संघले विभिन्न उमेर समुहका प्रतियोगिताहरुमा पदक विजेता खेलाडीहरुलाई सम्मन समेत गरेको छ । कार्यक्रममा कार्यसमितीका सकृय सदस्य राजेन्द्र कुमार घिमिरेलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close