चौथो पारा एसियन गेम्स : पवनको राष्ट्रिय कीर्तिमान, ब्याडमिन्टन र टेबलटेनिसमा हार

पोखरा स्पोर्टस । चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदको पावर लिफ्टिङमा नेपालका पवन घर्ती मगरले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

एक्सएससी जिम्न्याजिममा भएको पुरुष ४९ केजीमुनिको समूह ‘बी’ को प्रतिस्पर्धामा २८ वर्षीय पवनले ७६ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेको प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् ।

यसअघि ७५ केजीको कीर्तिमान पवनकै नाममा थियो । उनले उक्त कीर्तिमान दुबइमा यसै वर्ष भएको विश्व पारा पावर लिफ्टिङ च्याम्पियनसिपमा बनाएका थिए ।

ब्याडमिन्टन
ब्याडमिन्टनमा नेपाली खेलाडी पराजित भएका छन् । नेपालबाट सोमबार प्रकाश अधिकारी र हेमबहादुर गुरुङले सिंगल्समा प्रतिस्पर्धा गर्ने तालिका थियो ।

पुरुष सिंगल्स एसएल ४ को समूह ‘डि’ मा इन्डोनेसियाका रम्दानी हिक्मतले प्रकाशलाई २१–९ र २१–५ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्स एसयु ५ को समूह ‘जी’ मा अर्का खेलाडी हेम रिटायर्ड भएपछि उनका प्रतिद्वन्द्वी चाइनिज ताइपेइका पु गुइ यु विजेता बने । दुईबीचको खेल सुरु नै हुन सकेन ।

टेबलटेनिस
टेबलटेनिसमा नेपालका डिगमसिंह चेम्जोङ र विवेक राईले सोमबार मिश्रित प्रदशर्न गरेका छन् । पुरुष सिंगल्समा दुवैले दुई खेल खेलेका थिए । दुवैले एकमा जित र अर्कोमा हारको सामना गरे ।

पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ मा डिगमले किर्गिस्तानका सरीबइभ साइरीबेकलाई ११–४, ११–४ र ११–३ ले पराजित गरे । अर्को सिंगल्समा जापानका साइतो गेन्कीले डिगमलाई ११–५, ११–४ र ११–५ ले हराए ।

पुरुष सिंगल्स क्लास ७ को समूह ‘बी’ मा विवेकले टिमोर लिस्टेका वेर्नाडो कार्भेल्हो डिलाई ११–३, ११–२ र ११–६ ले पाखा लगाए । अर्को प्रतिस्पर्धामा चीनका केली लिउले विवेकलाई ११–४, ८–११, ११–५ र ११–० ले पन्छाए ।

पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा थाइल्यान्डका लोवोङ अनुराकले नेपालका केशव थापामाथि ११–४, १२–१० र १६–१४ को कठिन जित दर्ता गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close