सहाराको अध्यक्षमा हरिराम गुरुङ (सुरज) निर्विरोध

सहारालाई विदेशी खेलाडी भित्राउन सहयोग गर्छौं–मन्त्री गुरुङ

पोखरा स्पोर्टस । पोखराको खेलकुद र सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्था सहारा क्लव पोखराको अध्यक्षमा हरिराम गुरुङ (सुरज) निर्विरोध चयन भएका छन ।

पोखरामा आज सम्पन्न क्लवको २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशनले उनलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । क्लवको कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा केशबराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी र सह कोषाध्यक्षमा विनु राना मगर चयन भएको क्लवले जनाएको छ ।


यसै गरी कार्यसमिती सदस्यमा रोजिना गुरुङ्ग, .ज्योति केसी, शंकर सुवेदी, अतित गुरुङ्ग, मनमाया तामाङ्ग र मनोज थापा समेत निर्विरोध निर्वाचित भएका छन ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले सहारालाई विदेशी खेलाडी भित्राउन सहयोग गर्ने बताएका छन । “सहाराले आयोजना गर्ने आहा रारा गोल्डकपमा ४ जना विदेशी खेलाडी आफ्नो टिममा भित्रायो भने २ जनाको खर्च प्रदेश सरकारले दिनेछ”, मन्त्री गुरुङले भने–“यहाँका खेलाडीमा अझै केही सिक्नुपर्नेछ विदेशी खेलाडी आयो भने यहाँका खेलाडीले पनि सिक्ने मौका पाउनेछन ।”

युवा र खेलकुदको दुई फरक विषय नभएको बताउँदै मन्त्री गुरुङले प्रदेशका युवाहरुलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको बताउँदै उनले प्रदेश सरकारले व्याज अनुदानमा १० वर्षका लागि ऋण उपलव्ध गराउन लागिएको बताए । उनले खेलकुदमा लागेका युवा र सहारा र अन्य क्लवहरुलाई यसबाट लाभ लिन आग्रह गर्दै भने–“हामी उनीहरुलाई व्यवसायमा अघि बढाउन शिप संगै परियोजना बनाएर यूवा स्वरोजगार कार्यक्रम सफल बनाउँछौ ।” सहाराले पोखरामा आयोजना गर्ने आहा रारा गोल्ड कप र पोखरा म्याराथनको प्रदेश सरकार बाट सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री गुरुङले सो अवसरमा सहारा खेलकुद पत्रकारिता पुरस्कार बाट नगद, दोसल्ला र सम्मान पत्रका साथमा पत्रकार दिपक परियार र उत्कृष्ट सहारा सदस्यका रुपमा राम प्रसाद हिराचनलाई सम्मान गरे ।

क्लवका निवर्तमान अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा सहाराका सल्लाहाकार तेज बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, पुरस्कृत पत्रकार दिपक परियार लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सहारा क्लव पोखराको वार्षिक प्रतिवेदन

गत आव २०७७/०७८ को प्रगति विवरण
तथा
आगामी नीति तथा कार्यक्रम

– रामजी प्रसाद अधिकारी
महासचिव

“आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने पवित्र भावना लिएर स्थापित यस सहारा क्लब पोखराको आज हुन गइरहेको गरिमामय २३ औं वार्षिकोत्सव, १२ औं अधिवेशन तथा पुरस्कार वितरण समारोहका सभापति तथा सहारा क्लब पोखराका अध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, यस संस्थाका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्षज्यू, पूर्व अध्यक्षज्यू, मञ्चासीन विशिष्ट अतिथिज्यू, आमन्त्रित व्यक्तित्वहरु, संस्थाका मानार्थ सदस्यज्यूहरु एवं सल्लाहकारज्यूहरु, संस्थाका पूर्व पदाधिकारीज्यूहरु, विभिन्न संघसंस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यू, पत्रकार मित्रहरु,संस्थामा आबद्ध आजीवन साधारण र जुनियर सदस्यज्यूहरु, संस्थाका कर्मचारीज्यूहरु ।

म यस संस्थाको महासचिवको हैशियतले गत आवमा यस सामाजिक संस्थाले कार्य सम्पादन गरेका कार्यप्रगति विवरण तथा आगामी कार्यक्रमहरु यहाँहरु समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

भनिन्छ, सच्चा समाज सेवाको कुनै भौगोलिक सीमा हुँदैन, त्यसैले पोखराको बसपार्कमा आजभन्दा २३ वर्षअघि जन्मेर बृहत पोखराको अवधारणालाई आत्मसाथ गर्दै अघि बढेको यस संस्थाले पोखराको खेलुकद विकास, खेलमार्फत आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन, स्वच्छ वातावरण, प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण, शिक्षा, स्वास्थ्य लगायतमा उच्च प्राथमिकता दिँदै आजसम्म हामीले गरेको योगदान यहाँहरुसमक्ष छर्लङ्गै छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित यस सहारा क्लव पोखरा फुटबलका माध्यमबाट सामाजिक सेवामा सदैव क्रियाशील रहनेछ । संस्थाले वर्षेनी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितालाई निरन्तरता दिंदै बचत रकम कठिन एवं विपन्न वर्गका बालकहरुको सेवामा खर्चिदै आएको छ । खेल पर्यटनको विकाससँगै संस्थालाई कालान्तरसम्म जीवन्नता दिन र गतिशील प्रदान गर्न हामी सबैकोे उत्तिकै दायित्व र कत्र्तव्य हुन आउँछ । यस तथ्यलाई हामीहरु सम्पूर्णले हृदयंगम गरौं भन्ने अनुरोध र आग्रह गर्दै आगामी दिनमा पनि यहाँको सकारात्मक सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं । साथै अचानक विश्वव्यापी रुपमा (कोभिड १९) कोरोना संक्रमणको कारणले उत्पन्न अति विषम परिस्थितिले गर्दा हामी अझै बढी सजग र सम्वेदनशील भई कार्यसम्पादनमा लाग्नुपर्ने तपाई हामी सम्पूर्णको थप जिम्मेवारी रहेको पनि यहाँहरु समक्ष अनुरोध गर्दछु ।

यसैक्रममा अब म गत आ.व. २०७७/०७८ को प्रगति विवरण यहाँहरु समक्ष राख्ने अनुमति चाहन्छु ।

संस्थाको सांगठानिक विवरण ः
२०५५ साल भदौ ३० गते स्थापित यस सहारा क्लब पोखराको मेरुदण्डको रुपमा संलग्न सम्पूर्ण सदस्यज्यूहरुको महत्वपूर्ण भूमिका र योगदानले नै आजको हाम्रो संस्था परिस्कृत एवं चलायमान रहेको कुरा अवगत गराउँदै हाल संस्थामा आबद्ध जुनियर सदस्य–३५, साधारण सदस्य–९१, आजीवन सदस्य–५७, सल्लाहकार परिषद्–११, मानार्थ सदस्य–१० सहितको सिंगो स्वरुप नै संस्थाको सांगठानिक रुप हो । यहाँहरु ले प्रदान गर्नुभएको निःशुल्क स्वयंसेवाको लागि सम्पूर्णमा हार्दिक नमन गर्दै धन्यवाद टक्र्याउँदछु । साथै संस्थामा कार्यालय प्रमुख १ जना, लेखा सहायक १ जना, कार्र्यालय सहायक १ जना, होस्टल वार्डेन १ जना, शौचालय कर्मचारी १ जना, दोबिल्लास्थित सहारा एकेडेमी रेखदेख गर्ने कर्मचारी १ जना, भान्छा कर्मचारी २ जना, फुटबल प्रशिक्षक १ जना, सहयोगी २ जना गरी कुल ११ जना कर्मचारी कार्यरत रहेको निवेदन गर्दछु ।

संस्थाका शाखाहरु
विदेशमा रहेका नेपालीहरुलाई एकत्रित गरी सामाजिक सेवामा उत्प्रेरित गर्दै संस्थाको उद्देश्य प्राप्तिको लागि गठन गरिएका शाखा संस्थाहरु क्रमशः सहारा युके, सहारा क्लव हङकङ र सहारा क्लव अष्टे«लिया रहेको जानकारी गराउन चाहन्छु ।

संस्थाले गत आ.व.मा सम्पन्न गरेका गतिविधि 

विभिन्न उपसमितिहरु गठन
संस्थाको कामलाई छिटो छरितो तथा आपसी सौहार्दतापूर्ण तरिकाले सम्पन्न गर्नको लागि कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरी क्रियाशील रहेको छ ।
(क) सहारा फुटबल एकेडेमी व्यवस्थापन एवं अक्षयकोष अभिवृद्धि उपसमिति ः संयोजक विश्वराज बराल
(ख) खेलकुद एवं स्वयंसेवक परिचालन उपसमिति ः संयोजक हरिराम गुरुङ
(ग) अर्थ संकलन एवं आर्थिक व्यवस्थापन उपसमिति ः संयोजक राजु लालचन
(घ) सामाजिक व्यवस्थापन उपसमिति ः संयोजक गंगाराज पौडेल
(ङ) फुटबल टिम एवं व्यवसायिक एकेडेमी समन्वय उपसमिति ः संयोजक सुनिल रानामगर
(च) संस्कृति, महिला, बालबालिका एवं अतिथि सत्कार उपसमिति ः संयोजक रोजिना गुरुङ
(छ) जिन्सी व्यवस्थापन एवं भौतिक पूर्वाधार मर्मत सम्भार उपसमिति ः संयोजक तिलक बहादुर अधिकारी

सहारा फुटबल एकेडेमी संचालनमा निरन्तरता

२०५८ सालमा पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य राखी सहारा फुटबल एकेडेमी संचालन गरियो । सहारा फुटबल एकेडेमीको सफल संचालन पछि कठिन परिस्थिति एवं आर्थिक विपन्न बालकहरुले पनि अवसर प्राप्त गरे भविष्यमा राष्ट्रका सवल र दक्ष जनशक्ति हुनेछ भन्ने भावनाले अभिप्रेरित भएर कठिन परिस्थित एवं विपन्न वर्गका बालकहरुलाई गास, बास, कपास र उचित शिक्षाको प्रबन्ध गर्दै भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य राखी २०६१ सालमा विभिन्न जिल्लाका २५ जना बालकहरु छनोट गरी दोस्रो व्याचको सहारा फुटबल एकेडेमी संचालन गरियो । यसका साथै ५।६ वर्षको एकेडेमी संचालन पछिको अनुभवबाट एकेडेमी संचालन गर्नको लागि छुट्टै आवासगृह, खेलमैदान एवं भौतिक सामाग्रिको आवश्यकता पर्दछ भन्ने महसुस गरी २०६३ सालमा पोखरा १७ दोबिल्लामा २६ रोपनी जग्गा खरिद गरी सहारा ग्रामको सोंचका साथ गुरुयोजना तयार गरी हाल सहारा फुटबल एकेडेमी आवास भवनका साथै फुटबल मैदान निर्माण एवं पूर्वाधारहरु करिब सम्पन्न भैसकेको छ भने हाल १४ जिल्लाबाट २३ जना बालकहरुलाई समावेश गरी तेस्रो ब्याचको रुपमा सहारा फुटबल एकेडेमी संचालनमा आइरहेको जानकारी गराउँदछौं । उक्त बालकहरुको लागि गास, बास र कपासका साथै उचित शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षणको कार्य क्लवले संचालन गरिरहेको अवस्थामा हाल उक्त एकेडेमीलाई संचालन गर्ने मुख्य चुनौति रहेको छ । उक्त कार्य संचालनमा सहकार्य गर्दै मद्दत गर्नको लागि प्रदेश सरकार, स्थानीय सरकार तथा केन्द्रीय सरकारबाट उचित सहयोगको हामीले सधैं अपेक्षा गरिरहेको अवगत गराउन चाहन्छौं ।

१९ औं आहा रारा गोल्डकप सम्पन्न
फुटबलमार्फत सामाजिक क्षेत्रमा समर्पित यस सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालि पोखराको उत्पादन रारा तयारी चाउचाउ मुख्य प्रायोजक रही विगतदेखि निरन्तर रुपमा संचालित राष्ट्रिय अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिताको १८ औं श्रृंखला निकैनै चुनौतिपूर्ण परिस्थितिका बिच निर्माणाधीन रंगशालामा जिल्ला खेलकुद विकास कास्की, पश्चिमाञ्चल खेलकुद विकास समिति, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ एवं खेलकुद मन्त्रालयको साथै गण्डकी प्रदेश सरकारको विशेष सहयोग, पोखरा महानगरपालिका सहित सम्पूर्ण सुरक्षा निकाय लगायत प्रशासनिक कार्यालय एवं सम्पूर्ण मिडिया जगतको सकारात्मक सहयोगले भव्य र सभ्य रुपमा सम्पन्न भएको सहर्ष जानकारी गराउन चाहन्छु । हालै नयाँ बनाइएको पोखरा रंगशालाको प्याराफिट बीचमा यहाँहरुको सद्भाव र सहयोगले सम्पन्न सो प्रतियोगिता समाप्त भएसँगै विश्वव्यापी रुपमा कोरोनाको प्रकोपले विषम परिस्थितिको सृजना हुन गई सम्पूर्ण देश लकडाउनको स्थितिमा भएसँगै आर्थिक संकलनमा कठिनाई हुन गएको व्यहोरा यहाँहरु समक्ष राख्दै जानकारी गराउन चाहन्छु ।

विद्यालयलाई सहयोग

पोखरा महानगरपालिकाको केन्द्रबिन्दुमा भएर पनि बसपार्क आसपासमा रहेका विपन्न तथा न्यून आय भएका बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले यस संस्थाले सहारा बाल आधारभूत विद्यालयमा विगतका वर्षहरुमा झै यस वर्ष पनि रु.७५,०००।– अक्षरुपी पचत्तहर हजार रुपैयाँ सहयोग प्रदान गरियो । साथै २०७२ बैशाख १२ मा गएको विनासकारी भूकम्पबाट क्षति भएको गोरखा घैरुङस्थित गणेश प्राविलाई सहारा क्लव पोखराको पहलमा जिल्ला शिक्षा कार्यालय गोरखाको पूर्व अनुमति प्राप्त गरी सहारा युके, अरुण फाउण्डेशनको आर्थिक सहयोगमा पाँचेकोठे भवन निर्माण सम्पन्न गरी हाल उक्त विद्यालय संचालनका लागि एक शिक्षकको पारिश्रमिक वापत रु. ८४,०००।– अक्षरुपी चौरासी हजार रुपैयाँ प्रदान गरियो ।

सहयोग

पृथ्वी राजमार्गको सहारा मार्ग स्थित सहारा क्लव भवन अगाडि भएकोे नालाले आवागमनलाई असहज र दुर्गन्ध भएको हुँदा उक्त ढललाई स्लेप राखी ढलान गर्न कार्यमा रु.५०,०००।– आर्थिक सहयोग सहित समन्वय गरी ढलान कार्य सम्पन्न गरियो ।
बसपार्कमा रहेको टिकट काउण्टर जीर्ण भई काम गर्न जोखिम भएको कारण यात्रुहरुलाई असहज भएकोले उक्त टिकट काउण्टर मर्मत गरी संचालन गरेको कुरा अवगत गराउँदै उक्त मर्मत कार्यमा रु.२,४१,२१५ (अक्षरुपी दुई लाख एकचालिस हजार दुईसय पन्ध्र रुपैयाँ) खर्च भएको कुरा समेत जानकारी गराउँदछु ।

रक्तदान कार्यक्रम सम्पन्न

संस्थाको २२ औं वार्षिकोत्सव अवसरमा क्षेत्रीय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा बसपार्क संस्थाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा ३९ युनिट रगत संकलन भएको थियो ।

शौचालय संचालन

पर्यटनको राजधानी पोखरा महानगरपालिका वडा नं.९ स्थित बसपार्क धेरैजना यात्रु तथा सर्वसाधारणको आउजाउ हुने स्थान हो । सो स्थानमा सार्वजनिक शौचालय आवश्यकता महसुस गरी संस्था स्थापनासँगैसँगै पोखरा महानगरपालिकाको सहयोगमा अपांगमैत्री एवं स्नान गृह सहितको सार्वजनिक शौचालय संचालन रहेकोमा हालका दिन पनि निरन्तर संचालित छ ।

पत्रकार सम्मान

कास्की जिल्लालाई कर्मथलो बनाई लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रहँदै आउनुभएका एक जना पत्रकारलाई संस्थाले विगतदेखि ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गर्दै आएकोमा गत वर्ष पत्रकार इन्द्र प्रसाद पौडेललाई दोसल्ला ओढाई नगद २०,५५५।– (बीस हजार पाँच सय पचपन्न रुपैयाँ) सहित तामपत्र अर्पण गरिएको । सो सम्मानबाट यसअघि पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल र सन्देश श्रेष्ठ सम्मानित भएको जानकारी गराउँछु ।

सम्मान

सहारा क्लवद्वारा वार्षिक रुपमा प्रदान गर्ने राष्ट्रिय सर्वोत्कृष्ट फुटबल खेलाडी सम्मान कार्यक्रम अनुरुप राष्ट्रिय फुटबल खेलाडी अभिषेक रिजाललाई ताम्रपत्र, दोसल्लासहित नगद रु.३५,०००।– (पैतिस हजार रुपैयाँ मात्र) ले सम्मान गरियो । उक्त रकम सहारा क्लवका मानार्थ सदस्य खेम बहादुर गुरुङद्वारा प्रायोजन गर्नुभएको जानकारी गराउँदछु । साथै, यसै संस्थाका सदस्य प्रकाश राना मगरलाई पनि वार्षिक सहारा उत्कृष्ट सदस्य–२०७७ बाट सम्मान गरिएको थियो ।

सहारा अक्षयकोषलाई सहयोग

सहारा क्लब पोखराद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा फुटबल एकेडेमीलाई दीर्घकालीन समयसम्म निरन्तर संचालनका लागि आर्थिक श्रोत महत्वपूर्ण पाटो हो । सोही विषयलाई हृदयंगम गर्दै संस्थाले स्थापना गरेको सहारा फुटबल एकेडेमी अक्षयकोषका लागि विभिन्न सहयोगदाताले मन फुकाएर सहयोग गर्दै आउनुभएको छ । सर्वप्रथम त उहाँहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं । यस वर्ष रु. ५,१५,६९२।– (पाँचलाख पन्ध्रहजार छ सय बयानब्बे) रुपैयाँ सहयोग प्राप्त भएको छ ।
हाल आएर जम्मा रु. २,१८,६८,२५९।– (दुई करोड अठार लाख अठसठ्ठी हजार दुईसय उनन्साठी रुपैयाँ) रहेको जानकारी गराउँदछु ।

विधान संशोधन
कार्य सम्पादनमा सहजता हासिल गर्न हालको आवश्यकता अनुरुप सहारा क्लबको विधान २०५५ लाई ‘दोस्रो विधान संशोधन २०७६’ कार्य सम्पन्न गरेको यस सम्मानित सभामा जानकारी गराउँदछु ।

आगामी वर्षको कार्यक्रम

२० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता संचालन गर्ने । साथै एकाइसौ संस्करणको गोल्डकपको लागि प्रमुख आयोजकसँग सम्झौता कार्य अगाडि बढाउने ।
सहारा फुटबल एकेडेमी संचालन, भौतिक पूर्वाधार निर्माण एवं मर्मत सम्भारलाई निरन्तरता दिने ।
सहारा फुटबल एकेडेमी परिसरमा प्याराफिट निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने ।
सहारा क्लब पोखराद्वारा संचालन भैरहेको शौचालयलाई संचालनलाई निरन्तरता दिने ।
सम्मान कार्यक्रमलाई निरन्तरता दिने ।
सहारा आधारभूत विद्यालयलाई निरन्तरता दिने ।
देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिने ।
सहारा फुटबल एकेडेमी संचालनार्थ अक्षयकोष रकम वृद्धिमा निरन्तरता दिने ।
विभिन्न फुटबल प्रतियोगितामा सहभागिता जनाउने ।
सरसफाइ एवं रक्तदान कार्यक्रमलाई निरन्तरता दिने ।
बृहत् स्वास्थ्य शिविर एवं निःशुल्क औषधी वितरण गर्ने ।
विभिन्न संघसंस्थासँग भगिनी सम्बन्ध स्थापना गर्ने ।
अध्ययन अवलोकन भ्रमण गर्ने ।
क्षमता अभिवृद्धि तथा नेतृत्व विकास कार्यक्रम गर्ने ।
आकस्मिक दैवी एवं प्राकृतिक प्रकोपमा सहायता प्रदान गर्ने
विभिन्न संघसंस्थासँग सहयोग आदानप्रदान गर्ने ।
पोखरा बसपार्क निर्माणमा पहल गर्ने ।
व्यवसायिक फुटबल प्रशिक्षण संचालन गर्ने ।
ए डिभिजन लिगमा संलग्न हुनको लागि आवश्यक पहल गर्नुको साथै समयानुकुल सहारा फुटबल क्लव प्रालिको अवधारणा अगाडि बढाउने ।
अक्षयकोष स्तम्भ निर्माण गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close