
पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरिय गल्फ प्रतियोगितामा ग्रसतर्फको उपाधि रमेश गुरुङ र नेटतर्फ राजु थकालीले जितेका छन् ।
प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला गल्फ संघको ब्यवस्थापनमा सम्पन्न प्रतियोगितामा उनीहरुले उपाधि जितेका हुन् । स्टेवल फोर्ड फूल हेन्डीक्यापका आधारमा सञ्चालन भएको प्रतियोगिता ग्रसतर्फको उपाधि ३० अंक बटुल्दै रमेश जिते भने नेट तर्फको उपाधि राजु थकालीले ३७ अंक सहित जित्न सफल भए ।

उपाधि विजेता रमेश र राजुले जनही नगद ५–५ हजारका साथमा ट्रफी हात पारे । रमेशले सर्वाधिक बर्डी प्रहार गर्ने पुरस्कार समेत प्राप्त गरे ।
पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा ग्रसतर्फ जिवराम गुरुङ काउण्ट व्याकमा २८ स्कोरसहित दोस्रो तथा सुरेश तामाङ समान अंक बटुल्दै जिवरामसँग काउण्ट व्याकमा पछि पर्दै तेश्रो स्थानमा चित्त बुझाए । उनीहरुले क्रमश जनही नगद ३ हजार, २ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
नेट तर्फको दोस्रो स्थानमा ३५ अंक सहित संसार विक ३४ अंक सहित बलराम थापा तेश्रो भए । उनीहरुले क्रमश जनही नगद ३ हजार, २ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
सिनियरतर्फको उपाधि भने राजेन्द्र गौचनले जितेका छन् । उनले प्रतियोगितामा कुल २९ अंक आफ्नो नाममा लेखाए । उनीहरुलाई प्रमाणपत्रका साथमा नगद ३ हजार, २ हजार प्रदान गरिएको थियो ।
जुनियर तर्फको ९ होलको प्रतिस्पर्धामा दिप्सन लामा प्रथम, आशिष विक दोस्रो र डानियल बाँनिया तेस्रो भएका छन् । उनीहरुले प्रमाणपत्रका साथमा जनही नगद रु १–१ हजार हात पारे ।
लङ्गेष्ट ड्राइभमा भक्तराज गुरुङले बाजी मारे भने नियरष्ट टु द होल प्रतिस्पर्धा किशन परियारले जित्न सफल भए । उनीहरुलाई प्रमाणपत्रका साथमा जनही नगद रु १–१ हजार प्रदान गरिएको थियो ।
विजेता गल्फरलाई प्रतियोगिता संयोजक एवं प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य ऋषिराम गौतम, पोखरा महानगरपालिका वडा नं १४ का वडाध्यक्ष बोधबहादुर कार्की, गण्डकी प्रदेशका पूर्व सांसद इन्द्रधारा विष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ लगायतले नगद, ट्रफी प्रदान गेका थिए ।
प्रतियोगितामा ३० जना गल्फरको सहभागिता रहेको नेपाल गल्फ संघका केन्द्रिय सदस्य भुवन गुरुङले जानकारी दिएका छन् ।
