दोश्रो बाग्मती प्रदेश स्तरिय खेलकुद : १५०० मिटरमा अस्मिता र बिकेशलाई स्वर्ण

पोखरा स्पोर्टस । सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथ्लेटिक्सतर्फ १५०० मिटर दौडमा स्वर्ण जितेका छन् ।

हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्फ र विकेश पुरुषतर्फ स्वर्ण विजेता हुन् । विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए ।

सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कांस्य पदक जिते । महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समय लगाइन् । रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते ।

हाइजम्पमा दोलखाकी रोजिना कार्कीलेस्वर्ण प्राप्त गरिन् । उनले १.३१ मिटर जम्प गर्दै स्वर्ण हात पारेकी हुन् । चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए । यसै विधामा पुरुषतर्फ चितवनका अविनाश सुनारले स्वर्ण जिते । उनले १.६९ मिटर जम्प गरे । सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए ।

डिस्कस थ्रोमा महिलातर्फ रामेछापकी अनिता कार्कीले २१.९८ मिटर पर फ्याक्दै स्वर्ण जिते । दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए ।

पुरुषतर्फ भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे । उनले २७.७० मिटर पर फ्याके । चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close