
पोखरा स्पोर्टस । चिनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको १०० दिनको काउन्ट डाउन शुक्रबारबाट सुरु हुने भए संगै नेपाल ओलम्पिक कमिटिले एक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाल ओलम्पिक कमिटिले नेपालीहरु माझ एसियाली खेलकुदको जानकारी दिने उद्धेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । नेपाल ओलम्पिक कमिटीको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको समन्वयमा चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको सय दिनको ‘काउन्ट डाउन’ शुक्रबार विशेष कार्यक्रमबीच मनाउने तयारी भएको एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज बैद्यले जनाएका छन् ।
१९ औं एसियाली खेलकुद सेप्टेम्बर २३ बाट सुरु हुनेछ र अक्टोबर ८ मा टुंगिनेछ । नेपाल लगायत एसियाली खेलकुदमा सहभागी हुने देशहरू सय दिनको दिन गन्तिको विशेष कार्यक्रम मनाउन लागिएको छ ।
नेपालमा आयोजना हुने यस कार्यक्रमका संयोजक नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष अशोक रत्न बज्राचार्य लाई तोकिएको छ । उक्त कार्यक्रम सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीको परिसरमा आयोजना हुने एनओसीले जनाएको छ ।
कार्यक्रममा संघिय सरकाकारका युवा तथा खेलकुद मन्त्री दिगबहादुर लिम्बूको प्रमुख आथित्यमा हुने कार्यक्रममा परिषदका सदस्य सचिव टंकलाल घिसिङको पनि उपस्थिति रहनेछ । सो अवसरमा सांस्कृतिक कार्यक्रम, सहभागी हुने खेलको विशेष प्रस्तुतीसहित सांगितिक कार्यक्रम पनि राखिएको छ ।
प्रतियोगितामा नेपालले २९ खेलमा भाग लिनेछन जसमा दुई सय भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । १९ औं एसियाली खेलकुदमा ४० खेल समावेश गरिएका छन् र ति खेलमा ४ सय ८३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
एनओसीले बेइजिङ ओलम्पिक र ग्वाङझाउ एसियाली खेलकुदको अवसरमा यस्तै सय दिनको ‘काउन्ट डाउन’को कार्यक्रम आयोजना गरेको थियो ।
