
पोखरा स्पोर्टस । कोभिड १९ का महामारी विचको कठिन समयमा पनि पोखरेली दर्शकमा आहा ! राराको क्रेज बढेको देखिएको छ ।
सहारा क्लव पोखराद्वारा सञ्चालित १९ औं सस्करणको आहा ! रारा गोल्ड कपमा टिकट विक्रीबाट २१ लाख भन्दा वढी आम्दानी गरे पछि कोभिड १९ का महामारी विचको कठिन समयमा समेत दर्शकको क्रेज बढेको देखिएको हो । यहि चैत २१ गतेबाट २८ गते सम्म सञ्चालित गोल्डकपमा सहाराले २१ लाख १७ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको छ ।
तर यो वर्ष आम्दानी गतवर्ष भन्दा ७ लाखले घटेको छ । १८ औं संस्करणमा टिकट विक्रीबाट करिव २८ लाख आम्दानी गरेको थियो । १९ औं सस्करणमा सहाराले फाइनलमा खेलमा सवैभन्दा वढी आम्दानी गरेको जनाएको छ । चैत २८ गतेको फाइनल खेलमा टिकट विक्रिबाट ११ लाख ७७ हजार १ सय आम्दानी रहेको छ । फाइनल खेल हेर्नका लागि करिव ८ हजार दर्शक पोखरा रंगशाला पुगेका थिए । ८ हजार दर्शक मध्ये करिव ४ हजारले टिकट काटेका थिए भने ४ हजारले दर्शक पास लिएर फुटबल हेर्न रंगशाला पुगेको क्लवले जनाएको छ ।
त्यसै गरी चैत २१ गतेको उद्घाटन खेलमा १ लाख ४६ हजार २ सय ५०, २२ गते १ लाख १७ हजार, २३ गते १ लाख ३२ हजार ६ सय ५०, २४ गते १ लाख ६७ हजार २ सय ८०, २५ गते पहिलो सेमीफाइनल खेलमा १ लाख ९ हजार २ सय ९० र २६ गतेको दोश्रो सेमीफाइनल खेलमा २ लाख ६७ हजार ७ सय आम्दानी भएको क्लवले जनाएको छ ।
१९ औं सस्करणमा ८ टिमको मात्रैको सहभागिता र पोखरेली दर्शक अत्याधिक रोजाईमा परेका टिम मनाङ मर्स्याङदी, थ्रि स्टार जस्ता टिमहरु पहिलो चरणबाट वाहिरिनुले पनि यो वर्ष टिकट विक्रि घटेको अनुमान गरिएको छ ।
बचत भएको उक्त रकम क्लवले सहारा एकेडेमीमा रहेका वालकहरुको लागि खर्च गर्दै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताएका छन । नेपालका चर्चित ७ र एक विदेशी सहित ८ वटा क्लवहरुको भिडन्त रहेको १९ औं संस्करणमा सहारा क्लब पोखरा, नेपाल ए.पि. एफ.क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोसिएसन क्यामरुन, संकटा क्लब र नेपाल आयल निगम मनाङ्ग मर्स्याङदी क्लब, रुसलान थ्रिस्टार क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको थियो ।
