
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका खेल शिक्षक तथा स्वयंसेवक प्रशिक्षकहरुका लागि खेल विज्ञान प्रशिक्षण सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद, गण्डकीको वार्षिक कार्यक्रम अनुसार उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । प्रशिक्षणमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विभिन्न विद्यालयका २२ जना खेल शिक्षकहरुको सहभागिता रहेको छ ।

असार १७ गते सम्म सञ्चालन हुने आवाशिय सुविधा सहितको प्रशिक्षणमा राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश विभिन्न ६ वटा खेलहरुलाई लक्षित गर्दै प्रशिक्षण प्रदान गरिने छ । उनीहरुलाई एथलेटिक्स, उशु, कव्वडी, भलिबल, कराते र तेक्वान्दो खेल समावेश गरिएको परिषदले जनाएको छ ।
सहभागिहरुलाई गण्डकी विश्वविद्यालयका डा.मधूसूदन सूबेदी, उप–प्रध्यापक आशिष आचार्य, सोनाम वुद्ध लामा, डा. मनिष कुमार झा, क्षेत्रिय खेलकुदका निर्देशक तथा प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनालगायत विभिन्न ६ वटा खेलका प्रशिक्षक तथा विज्ञहरुले प्रशिक्षण दिनेछन् ।
‘दिगो लक्ष्य हासिल गर्न खेलकुदमा लगानी अपरिहार्य’–डा.अधिकारी
उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य डा.सुवास अधिकारीले दिगो लक्ष्य हासिल गर्न खेलकुदमा लगानी अपरिहार्य रहने कुरामा जोड दिएका छन् ।
“दिगो विकास लक्ष्य संग जोडिएका स्वास्थ्य र लैङ्गिक समानता जस्ता महत्वपूर्ण विषयहरु खेलकुदमार्फत पुरा गर्न सकिने भएकोले सन २०३० सम्म समृद्धी प्राप्त गर्न खेलकुदमा लगानी महत्वपूर्ण छ”, डा.अधिकारीले भने । शिक्षामा खेलकुद अनिवार्य विषय बनाउनु पर्ने तथा हरेक विद्यालय एक खेल मैदानको अवधारणामा अघि बढाउनुपर्ने कुरामा समेत उनले जोड दिंदै भने–“हाम्रा विद्यालय अझै पनि खेलमैत्री हुन नसक्दा उत्पादन भएका प्रशिक्षकहरु समेत फुर्सदिला बनेका छन् भने विद्यालय सम्म खेल शिक्षकहरु पुग्न सकेका छैनन् यसमा नितिगत सुधारको आवश्यक्ता छ ।”
आधारभुत तहबाटै खेलाडी उत्पादनको थलो समेत विद्यालय भएकोले विद्यार्थीहरुलाई राष्ट्रिय खेलाडीको रुपमा स्थापित गर्न शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने डा. अधिकारीको भनाई थियो ।
सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले विद्यालयतहमा नै खेलाडी उत्पादनको केन्द्र रहेकोले खेल शिक्षकहरुका लागि यो प्रशिक्षण सुरु गरिएको बताए । परिषदको आफ्नो सिमित बजेट भित्र रहेर पहिलो पटक यस प्रकारको प्रशिक्षण सुरुवात गरिएको बताउँदै उनले नेपाली खेलकुदको जगलाई बलियो बनाउन समाजमा सचेतना आवश्यक रहने कुरा औंल्याए ।
खेलाडीहरुको जिवनशैली संग जोडिएको उनीहरुको भविष्य सुनिश्चितता नभए सम्म खेलको विकास सम्भव हुन नसक्ने कुरामा जोड दिंदै सदस्य सचिव गुरुङले भने–“खेलकुद युवाहरुका लागि मात्रै होइन यो खेलकुद सवैका लागि हो भन्ने कुरा स्थापित गर्न आवश्यक छ ।” उनले खेलकुद विकासका लागि राज्यको लगानी मात्रै नभई निजी क्षेत्रको लगानी र सहकार्य हुनुपर्ने तथा खेलक्षेत्रमा सुशासन संगै पारदर्शिता हुनुपर्ने कुरामा जोड् दिए ।
प्रदेश खेलकुद परिषदका सदस्य तथा उक्त कार्यक्रमकी संयोजक निर्मला बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, तारा थापा मगर, सदस्य खगेन्द्र क्षेत्री, परिषदका कार्यलय प्रमुख तोपलाल भुसाल लगायतको सहभागिता रहेको थियो ।
