
पोखरा स्पोर्टस । ‘छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८’ यहीं असार १८ गते पोखरा सभागृह हलमा हुने निश्चित भएपछि अवार्डको रौनक बढ्न थालेको छ । खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमप्रति खेलप्रेमीको साथ रहने गरेको छ ।
अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट उदियमान खेलाडी विधाको उत्कृष्ट तीन मनोनयनमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । हामी यहाँ शाहिलको छोटो चिनारी प्रस्तुत गर्दैछौं :
शाहिल लिम्बु : लाहुरे बन्ने हुटहुटीले बक्सर
पोखरा १२ सितलादेवी स्कुलमा कक्षा १० पढ्ने शाहिल लिम्बुको सानैदेखि लाहुरे बन्ने हुटहुटी थियो । तर उनको शरिरको बनावट देखेर आकर्षित भएका घर छेउका अंकलहरुले लोक गुरुङको भूपू बक्सिङ सेन्टरमा लगेर भर्ना गरिदिए । विस्तारै उनी बक्सिङ प्रति आकर्षित हुन थाले । लोक गुरुङकै प्रशिक्षणमा उनी पोख्त हुँदै गए ।
उमेरले १५ लागेका उनी पढाईसँगै बक्सिङलाई अघि बढाइरहेका छन् । प्रशिक्षण सुरु गरेका उनले एक वर्षपछि नै प्रतियोगितामा खेल्ने अवसर जुर्यो । २०७७ मा पोखरा रंगशालामा भएको हिरोज कप इन्डोर नेपाल इन्भिटेशनल बक्सिङ टुर्नामेन्टमा उनले सहभागिता जनाए । त्यसमा उनी भारत कै खेलाडीसँग पराजित भए । त्यो हारले उनलाई आगामी खेलमा दरो भएर उत्रने प्रेरणा जगायो । उनी झनै प्रशिक्षण व्यस्त हुने थाले ।
२०७८ सालमा काठमाडौंमा स्कुल नेशनल बक्सिङ प्रतियोगिता भयो । त्यहाँ पनि उनको सहभागिता रह्यो । उनी त्यहाँ सहभागितामा मात्रै भएनन् नेपालभरबाट जम्मा भएका बक्सरहरुसँग खेल्दा उनी सफल भए । उनले गोल्ड मेडल नै हात पारे । अहिलेसम्मको बक्सिङ करियरमा उनको यो नै सबैभन्दा ठूलो सफलता हो । त्यसलगत्तै पोखरामा फेरी हिरोज कप इन्डोर नेपाल इन्भिटेशनल बक्सिङ टुर्नामेन्ट आयोजना भयो । पहिलो वर्ष व्यहोरेको हारको बदला लिनु थियो, उनलाई । उनी त्यसका लागि तयारी गर्न थाले । भर्खर मात्र गोल्ड मेडल जितेको खुसी र उत्साह त थियो तर भारतबाट खेलाडी आउने भएपछि तयारीलाई अझ निखारे र होमिए प्रतियोगितामा । उनले त्यसमा गोल्ड मेडल जितेर पहिलेको हारको बदला लिए ।
अहिले उनी नवौं खेलकुदको तयारीमा छन् । नवौंमा सहभागी भएर कास्की जिल्लासँगै गण्डकी प्रदेशकै नतिजामा सुधार ल्याउने उनको ध्याउन्न छ । उनको खेल जीवनमा बाबा रुकमान र आमा मञ्जु लिम्बुको राम्रो साथ छ । अहिलेलाई पढाईसँगै बक्सिङमा ध्यान दिने र पछि लाहुेर देखाउने पनि उनको धोको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।
