
पोखरा स्पोर्टस । चौथो एसियाली पारा खेलकुद अन्तर्गत पारा ब्याडमिन्टनमा नेपाल पराजित भएको छ ।
चिनको हाङझाउमा भएको डबल्सतर्फको खेलमा नेपाल पुरुष डबल्स एसयु ५ समूह ‘बी’ मा पराजित भएको हो ।
मलेसियाका हाउ लिक चेह र फरिज मोहम्मद विन अनुरको जोडीले नेपालका प्रकाश अधिकारी र हेमबहादुर गुरुङको जोडीलाई २१–६ र २१–८ को सोझो सेटमा पराजित गरेका थिए ।
एसियाली पारा ब्याडमिन्टनमा नेपालले कुनै प्रशिक्षक पठाएको थिएन । तर डबल्सतर्फ खेलको एक दिन अघि मात्रै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक जनालाई प्रशिक्षकको रुपमा पठाएको छ ।
सिंगल्सतर्फ भएको खेल चलिरहँदा नेपाली पारा टोलीको अफिसियलको रुपमा खटिएका राखेपका कानुन अधिकृत नारायणराज अर्याल खेलाडीको मनोबल बढाउन कोर्टमा प्रवेश गर्न खोजेका थिए । तर ब्याडमिन्टन वर्ल्ड फेडेरेशनको टोलीले उनलाई कोर्ट प्रवेश गर्न रोकेको थियो ।
ब्याडमिन्टन सिंगल्सतर्फ नेपाल प्रतियोगिताबाट बाहिरिए पछि राखेपले ति व्यक्तिलाई प्रशिक्षक बनाएर डबल्सतर्फको खेलका लागि पठाएको थियो । तिनले फुटबलको एनआइएस कोर्ष पुरा गरेका छन् ।
प्राविधिक रुपमा समेत फुटबलका प्रशिक्षकलाई ब्याडमिन्टनको प्रशिक्षक बनाएर राखेपले उनलाई हाङझाउ कसरी पठाइयो ? यो प्रश्न भने अनुत्तरित छ ।
नेपाली ब्याडमिन्टन टोली पराजित भए संगै भोली बुधबार स्वदेश फर्किने भएको छ । तर ब्याडमिन्टन प्रशिक्षकका लागि खटिएका ति व्यक्ति अक्टोबर ३१ तारिखमा नेपाल फर्किने छन् ।
