
पोखरा, कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौरले संयुक्त रुपमा आयोजना गर्ने दोश्रो सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय दोश्रो छात्र/छात्रा भलिवल प्रतियोगिता फागुनको पहिलो साता बाट हुने भएको छ ।

पोखरामा उक्त प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फागुन ६ गते बाट १० गते सम्म पोखरा रंगशाला भलिबल प्रशिक्षण खेल मैदानमा हुने प्रतियोगितामा कास्की जिल्लाका ५० भन्दा बढी सामुदायिक विद्यालयहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन ।
पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिंदै केन्द्रका अध्यक्ष मिन प्रसाद भट्टराईले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने–“गाउँ गाउँमा लुकेर रहेका हरुकालागि आफ्नो प्रतिभा उजागर गर्नका साथै प्रतियोगिता बाट राम्रा खेलाडी उत्पादन हुने हामीले विश्वास लिएका छौं ।”

प्रतियोगिताको उपाधि बिजेता छात्र तथा छात्रा दुबै तर्फकालाई ५०/५० हजार, उपबिजेतालाई ३०/३० हजार र तृतीय हुने विद्यालयलाई १५/१५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने केन्द्रका प्रथम उपाध्यक्ष इन्द्र पौडेलले बताए । पौडे्लका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट छात्र तथा छात्रालाई खेलाडीलायई ५/५ हजार र ट्रफी तथा अन्य ५ विधाका उत्कृष्ट खेलाडीलाई १/१ थान भलिवल प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालन गर्न ९ लाख ५५ हजार खर्च लाग्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिएका छन । प्रतियोगिताबाट १० लाख ५० हजार आम्दानी गरी ९५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य रहेको बताउँदै बचत रकम भलिवल खेलकै विकास र बिस्तारका लागि खर्च गरिने अध्यक्ष पराजुलीले बताए ।
सो अवसमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले यस्ता प्रतियोगिताहरुले भलिबल खेल विकासमा कोशे ढुङा हुने बताए । उनले भने–“हामी यति बेला नवौं राष्ट्रिय खेलकुदको तयारी गरिरहेका छौं, पोखरा रंगशालाको निर्माण लगाएत अन्य पूर्वाधारको काम सम्पन्न हुने अवस्थामा छ ।”
सृजना विकास केन्द्र पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरमा रहेको सामाजिक तथा आर्थिक कृयाकलाप गर्ने अग्रणी संस्थाको रुपमा रहेको छ ।
