
पोखरा स्पोर्ट्स । जारी पीएम कपका खेलमा लुम्बिनी प्रदेश र बागमती प्रदेश विजयी भएका छन् ।
बुधबार सम्पन्न खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ६० रनले पराजित गरेको छ । बागमतीले दिएको १८१ रनको लक्ष्य पछाएको कर्णाली प्रदेश २५.१ ओभरमा १२० रन बनाएर अल आउट भएको थियो ।
कर्णालीका लागि निश्चल रावलले ३१ र दिनेश अधिकारीले २२ रन बनाएका थिए । त्यस्तै बागमती प्रदेशका लागि सन्दीप लामिछानेले ७ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको बागमतीले ३८.४ ओभरमा अल आउट हुदै १८० रन बनाएको थियो । बागमतीका लागि बिबेक मगरले ५६ र इशान पाण्डेले २७ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर दिवान पुनले ३ तथा दिपेन्द्र रावत र प्रकाश जैशीले २-२ विकेट लिएका थिए ।
यो जितपछि बागमती प्रदेशको ५ खेलमा ४ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यस्तै कर्णाली प्रदेश ५ खेलमा ३ अंकसहित आठौ स्थानमा झरेको छ ।
त्यसैगरी अर्को खेलमा लुम्बिनी प्रदेशले एपीएफलाई सुपर ओभरमा पराजित गरेको छ । दुवैले १२४-१२४ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो ।
यो जितपछि लुम्बिनी प्रदेश ५ खेलमा ५ अंकसहित पाँचौं स्थानमा रहेको छ भने एपीएफ ५ खेलमा ३ अंकसहित सातौं स्थानमा झरेको छ ।
