ग्रासरुटमै खेलकुदको बलियो आधार बनाउन मन्त्री सस्मित पोखरेलको जोड्

पोखरा स्पोर्ट्स । युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद विकासको मुख्य आधार ग्रासरुट तहमै गुणस्तरीय खेलाडी उत्पादन गर्नुपर्ने बताएका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित राखेप हातामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रमा चुनौती र अवसर दुवै रहेको बताउँदै बोलेरभन्दा काम गरेर परिणाम देखाउनेतर्फ अब अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

खेलकुद मन्त्री स्वभाविक रूपमा राखेप बोर्ड अध्यक्ष रहने प्रावधानअनुसार पोखरेलले कार्यभार सम्हालेपछि पहिलोपटक राखेप परिवारसँग भेटघाट गरेका थिए । कार्यक्रममा उनले सबै निकायको दक्षता, अनुभव र स्रोतलाई समन्वय गर्दै दीर्घकालीन खेलकुद विकासमा उपयोग गर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डा.अच्युतम लामिछानेले खेलकुद प्रणालीलाई समग्र रूपमा सुधार गर्दै नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए ।

सो अवसरमा राखेप सदस्य-सचिव रामचरित्र मेहताले बोर्ड र कार्यसमितिको संरचना, बजेट, पूर्वाधारको अवस्था, खेल संघहरूको स्थिति, खेलाडीको रोकिएको पुरस्कार, ‘मिसन–२०२६’ अन्तर्गत भइरहेको तयारी प्रशिक्षण तथा ऐन संशोधनलगायत विषयमा मन्त्रीलाई अवगत गराए ।

कार्यक्रमपछि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरअन्तर्गत निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाइ पर्फमेन्स सेन्टर तथा पौडी पोखरी स्थलहरूको अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close