राखेपको सहकार्यमा हुने राष्ट्रिय प्रतियोगितामा दोहोरो नीति प्रति सदस्य-सचिव श्रीधर शर्माको असन्तुष्टि

पोखरा स्पोर्ट्स ।  प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य-सचिव श्रीधर शर्माले काठमाडौंमा आयोजना हुने विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी टिमहरूलाई प्रदान गरिने सुविधामा देखिएको दोहोरो नीतिप्रति कडा असन्तुष्टि जनाएका छन् ।

उनका अनुसार केही खेलकुद संघहरूले राजधानीमा हुने राष्ट्रिय प्रतियोगितामा अन्य प्रदेशका टिमलाई खाने, बस्ने र यातायात सुविधा उपलब्ध गराउँछन् भने केही संघले कुनै सुविधा नदिने गर्दै आएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प)ले ती संघहरूलाई निरन्तर अनुदान दिनु अन्यायपूर्ण र भेदभावपूर्ण अभ्यास भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले लेखेका छन्-“टिमको सुविधाको आधारमा नै राष्ट्रिय प्रतियोगिता कायम हुनुपर्छ । राजधानीमै हुने खेलमा सहभागी टिमले किन खान-बस्न सुविधा नपाउने? दोहोरो नीति अब बन्द हुनुपर्छ ।”

शर्माले प्रदेश तथा प्रदेश खेल संघहरूले आयोजना गर्ने प्रतियोगितामा खेलकुद ऐनअनुसार खेलाडीलाई सुविधा प्रदान गरेको भए पनि विशेषगरी काठमाडौंमा राखेपको सहयोगमा हुने खेलहरूमा भने खेलाडीहरू आफ्नै खर्चमा जानुपर्ने बाध्यता अब हटाइयोस् भन्ने माग गरेका छन् । उनले भनेका छन्-“सबै खेलाडीका लागि समान अवसर, समान सुविधा र समान खर्चको व्यवस्था अनिवार्य छ ।”

यस विषयमा राखेपको गम्भीर ध्यानाकर्षण गराउँदै उनले परिषद्को अनुदान लिएर आयोजना गरिने कुनै पनि राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी टिमलाई अनिवार्य रूपमा यातायात, बसोबास र खाने सुविधाको सर्त राखिनु पर्ने सुझाव दिएका छन् ।

यदि यस्तो व्यवस्था सुनिश्चित नभए उपत्यका-व्यापी खेल आयोजना गर्ने नीति लागू गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् । उनका अनुसार विभिन्न राष्ट्रिय खेल संघहरूले आयोजना गर्ने प्रतियोगिताको प्रभावकारी नियमन तथा अनुगमन गर्नु राखेपकै जिम्मेवारी हो ।

शर्माले भनेका छन्–“टिम, क्लब र खेलाडीले भोग्नु परेको समस्या बुझेर समाधान गर्ने जिम्मा राज्यको हो । सहज र न्यायपूर्ण वातावरण निर्माण गर्नु राखेप र सबै प्रदेश खेलकुद परिषद्को दायित्व हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close