
पोखरा स्पोर्ट्स । नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ मा प्रतिस्पर्धा गर्ने ६ फ्रेन्चाइज टिमका मालिकहरू औपचारिक रूपमा सार्वजनिक भएका छन् । आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले शनिबार आयोजित कार्यक्रममा टिम स्वामित्व घोषणा गरेको हो ।
विराटनगरको टिम नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.ले लिएको छ, जसले टिमको नाम विराटनगर ब्यान्डिट्स बाट परिवर्तन गरी विराटनगर बाहुबली राखेको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्स नेको इन्स्योरेन्स लिमिटेडको स्वामित्वमै यथावत् रहने भएको छ । उपविजेता काठमाडौं माभरिक्स काठमाडौं माभरिक्स प्रा।लि।को स्वामित्वमा पुगेको छ ।
पोखराको पोखरा लेकर्स फेवा कन्स्ट्रक्सन प्रा.लि.ले लिएको छ भने मोराई कर्पोरेसन प्रा.लि. बुटवल बुल्स को मालिक बनेको छ । पहिलो संस्करणमा हिमालयन रेइडर्स नाममा प्रतिस्पर्धा गरेको बुटवलको फ्रेन्चाइज यसपटक नयाँ नामसहित लिगमा उपस्थित हुनेछ । त्यस्तै, सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने धनगढी वाइल्डक्याट्स धनगढी वाइल्डक्याट्स प्रा.लि.को स्वामित्वमा रहेको छ।
एनकेएलले देशभर लोकप्रियता बढाउँदै लगेका बेला व्यापारिक तथा व्यवसायिक घरानाको सहभागिता पाउन पाएकोमा खुशी व्यक्त गर्दै एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले दोस्रो संस्करणलाई झनै उत्कृष्ट बनाइने बताए ।
‘पहिलो संस्करण भव्य रूपमा सम्पन्न गरेका थियौं, दोस्रो संस्करणलाई थप उत्कृष्ट बनाउनेछौं । कर्पोरेट हाउसहरूको सहभागिताले लिगलाई नयाँ उचाइ दिनेछ। नेपाली कबड्डीलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल बनाउने हाम्रो लक्ष्य हो,’ बेगानीले बताए ।