
पोखरा स्पोर्ट्स । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनबाट नव–निर्वाचित वरिष्ठ उपाध्यक्ष रोविन प्रशाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले स्वागतसहित सम्मान गरेको छ । पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बिहीबार आयोजित एक कार्यक्रममा शेरचनलाई सम्मान प्रदान गरिएको हो ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेरचन गण्डकी प्रदेश टेनिस संघले सञ्चालन गर्दै आएको ग्रास–रुट टेनिस कार्यक्रमका सहयोगी पनि हुन् । साथै, सोही कार्यक्रममा एनआरएनए महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित तथा खेलकुद विभाग प्रमुख मनोज श्रेष्ठ गोर्खालीलाई पनि टेनिस संघले स्वागत गरेको थियो ।
सो अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष शेरचनले गण्डकीमा टेनिस खेलको विकास यात्रासँग जोडिन पाउनु आफ्नो लागि गर्वको विषय रहेको बताए । उनले भने, “दुई वर्षअघि मैले ग्रो जुनियर टेनिस कार्यक्रमबारे थाहा पाएँ । म पनि लामो समय पोखरामा बसेको र एक टेनिस प्रेमी भएको नाताले यो कार्यक्रमले मलाई विशेष रूपमा छोयो ।” विदेशमा रहेर पनि देशसँग एक गर्व गर्ने कार्यक्रममा जोडिन पाउनु सौभाग्यको कुरा रहेको बताउँदै उनले भने–“टेनिस विकासका लागि गर्नुभएको प्रयास अत्यन्तै प्रशंसनीय छ । म यहाँहरुलाई बधाई र शुभकामना दिन चाहन्छु ।”
आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघको टिमले विगतको निरन्तरता दिंदै अझ प्रभावकारी उपस्थिति जनाउने उल्लेख गर्दै उनले थपे, “राष्ट्रिय खेलकुदसँग जोडिने योजनाका साथ अघि बढेका छौँ । आगामी दिनमा टेनिस र समग्र खेलकुद विकासका लागि पुलको रूपमा भूमिका खेल्दै अघि बढ्नेछौँ ।”
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले नवनिर्वाचित शेरचनलाई सफल कार्यकालको शुभकामना दिंदै संघ दीर्घकालीन योजनासहित टेनिस विकासका कार्यमा अगाडि बढिरहेको बताए । ग्रो टेनिस कार्यक्रम अन्तर्गत ११ जना तथा जुनियर टेनिस प्रशिक्षणमा ३० जना गरी ४१ जना बालबालिकाले नियमित प्रशिक्षण गरिरहेको जानकारी दिँदै उनले भने, “रोविन शेरचनजस्ता सहयोगी व्यक्तित्वका कारण हाम्रो योजनाहरू साकार पार्न सहज भएको छ ।” उनले यहाँबाट उत्पादित जनशक्ति नेपाली टेनिसको विकाससँगै उनीहरूलाई आत्मनिर्भर बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा एनआरएनए उपाध्यक्ष एवं खेलकुद विभाग प्रमुख मनोज गोर्खाली, गण्डकी टेनिसका उपाध्यक्षद्वय लोकबहादुर गुरुङ र दोर्जे लामा, महासचिव नविन चालिसे, क्षेत्रिय खेलकुदका पूर्व उपाध्यक्ष सुनिल गुरूङ, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाली काँग्रेस कास्कीका नेता भानु ढकालसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
