पोखरामा हुने रात्रीकालीन दौड सफल बनाउन वडाध्यक्षहरूको प्रतिवद्धता

पोखरा स्पोर्ट्स । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगिता सफल बनाउन पोखराका वडाध्यक्षहरूले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले उत्साहका साथ प्रतियोगितालाई सफल बनाउने धारणा राखे ।

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायीले चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्न थालेकाले रात्रिकालीन दौडले स्थानीय व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्‍याउने बताए । उनले यो प्रतियोगिताले पोखराको नयाँ ब्रान्ड बन्न सक्ने विश्वास व्यक्त गर्दै सबैलाई दायित्वबोधसहित सहभागी हुन आग्रह गरे ।

वडा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता सफल बनाउन टोल विकास संस्था, आमा समूह, क्लब तथा विभिन्न संघ–संस्थासँग समन्वय गर्ने प्रतिबद्धता जनाए । वडा–७ का वडाध्यक्ष राममोहन आचार्यले रुटमा प्रकाश कमी भएका स्थानमा आवश्यक लाइटको व्यवस्था मिलाइने बताए ।

वडा–८ का वडाध्यक्ष रुद्र बरालले नयाँ सोचसहित आएको नयाँ इभेन्टको सफलताका लागि वडाबाट पूर्ण सहयोग रहने बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले पनि समितिको तर्फबाट आवश्यक साथ–सहयोग रहने आश्वासन दिए ।

प्रतियोगिताका प्राविधिक प्रमुख ओम गुरुङले रुटमा अतिरिक्त प्रकाश आवश्यक हुने स्थानहरूको विवरण वडालाई पठाइने जानकारी दिए ।

प्रतियोगिताका संयोजक दीननाथ बरालले खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रात्रिदौड आयोजना गरिएको बताए । पाँच किलोमिटरको दौड बाराहीघाटबाट सुरु भई सेन्टरप्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै झण्डा पार्क फल्चामा समापन हुनेछ ।

पोखरा प्रवर्द्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले रात्रिकालीन दौडले शहरी गतिशीलता, शान्ति–सुरक्षा, व्यावसायिक प्रवद्र्धन र स्वस्थ जीवनशैलीप्रतिको सन्देश बोकेको बताए। नेपाली नयाँ वर्षमा प्रवद्र्धनात्मक कार्यक्रमहरू कम हुने भएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” अवधारणामा प्रतियोगिता आयोजना गरिएको उनले स्पष्ट पारे ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा चैत्र २८ गते हुने प्रतियोगितामा वडा नं. ९ ले समन्वय गर्ने जानकारी गराइएको छ । प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनरका रूपमा रहनेछ भने अटोवेज प्रा.लि., सिटिजन फर्निचर, परिचय एड्भटाइजिङ लगायतका संस्थाले सहयोग गर्नेछन्। अनलाइन फाराम केही दिनमै खुला गरिने पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close