खेलकुदको दिगो विकासका लागि सक्षम खेलकुद मन्त्रीको आवश्यकता

पोखरा स्पोर्ट्स । युवा तथा खेलकुद मन्त्री नियुक्ति गर्दा केवल राजनीतिक भागबण्डामा होइन, योग्यता, अनुभव र स्पष्ट दृष्टिकोणलाई प्राथमिकता दिनु अत्यावश्यक छ । खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र होइन, यो राष्ट्रको गौरव, युवाको ऊर्जा र राष्ट्रिय पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र हो । त्यसैले यसको नेतृत्व सक्षम, दूरदर्शी र प्रतिबद्ध व्यक्तिको हातमा हुनुपर्छ ।

पहिलो, खेलकुद क्षेत्रको गहिरो ज्ञान र व्यावहारिक अनुभव भएको व्यक्ति मन्त्री बन्नुपर्छ । खेलाडीको पीडा, आवश्यकता र सम्भावनालाई नजिकबाट बुझेको-पूर्व खेलाडी, प्रशिक्षक वा खेल व्यवस्थापनमा अनुभवी व्यक्तिले मात्र नीतिगत निर्णयलाई प्रभावकारी र व्यवहारिक बनाउन सक्छ ।

दोस्रो, युवामैत्री सोच र स्पष्ट कार्ययोजना भएको नेतृत्व अपरिहार्य छ । युवालाई रोजगारी, सीप विकास र खेलकुदमार्फत अवसर सिर्जना गर्ने दृष्टिकोण भएको व्यक्तिले मात्र वास्तविक परिवर्तन ल्याउन सक्छ । केवल भाषण होइन, कार्यान्वयन गर्ने क्षमता नै नेतृत्वको असली परीक्षामा नियुक्ति हुने मन्त्रीले गुर्जिनु पर्ने हुन्छ ।

तेस्रो, खेलकुदलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै पारदर्शी र स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने व्यक्तिको आवश्यकता छ। खेल संघ–संस्थामा देखिने विकृति, पक्षपात र अनियमितता अन्त्य गर्न दृढ इच्छाशक्ति र इमानदार प्रयास अनिवार्य छ ।

चौथो, अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्न सक्ने कूटनीतिक क्षमता भएको नेतृत्व आवश्यक छ। जसले अन्तर्राष्ट्रिय प्रतियोगिता, सहकार्य र लगानी भित्र्याउने पहल गर्न सकोस् र नेपालको खेलकुदलाई विश्वसामु उभ्याउन सकियोस् ।

पाँचौ, नेपाली खेलकुद संघहरुलाई चलायमान बनाउँदै उनीहरुलाई आर्थिक, नैतिक र व्यवसायीक खेलकुद विकासका लागि अघि बढाउन पहलका लागि सदैव तयार रहन आवश्यक छ । खेलकुद विकासका मुख्य मेरुदण्ड खेल संघहरुलाई व्यवस्थित बनाउनु हो भन्ने विषयमा हेक्का राख्दै उनीहरुलाई सोही अनुसार परिचालन गर्न आवश्यक छ ।

अन्ततः, इमान्दार, जवाफदेही र परिणाममुखी नेतृत्व नै आजको खाँचो हो। युवा तथा खेलकुद मन्त्रालयलाई प्रभावकारी र सफल बनाउन योग्य, अनुभवी र प्रतिबद्ध व्यक्तिलाई मन्त्री बनाउनु नै देश र खेलकुद दुवैको हितमा हुनेछ ।

श्री गुरुङ
(संस्थापक अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी/हालः जापान)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close