करातेकी एरिका गुरुङ तमु धी यूकेको सद्भावना दूत नियुक्त

पोखरा स्पोर्ट्स । नेपाली राष्ट्रिय कराते टोलीकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई तमु धी एसोसिएसन यूकेले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ । काठमाण्डौमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत एरिकालाई अप्रिलदेखि लागू हुने गरी एक वर्षका लागि सद्भावना दूत बनाइएको जानकारी दिइएको हो ।

कार्यक्रममा तमु धी एसोसिएसन यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, एरिका गुरुङ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ तथा प्रशिक्षक कुशल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

विश्व नम्बर एक बन्ने लक्ष्यमा सहयोग पुर्‍याउने उद्देश्यले तमु धीले एरिकालाई आवश्यक साथ दिने भएको छ । करातेकी अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङको पहलमा यो सहकार्य सम्भव भएको जनाइएको छ ।

सम्झौताअनुसार विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते महासंघ (एकेएफ) अन्तर्गतका प्रतियोगिताहरूमा सहभागिताका लागि तमु धी एसोसिएसन यूकेले हवाई टिकट, खेल सामग्री, दुई जोडी ट्र्याकसुट तथा प्रत्येक प्रतियोगिताका लागि ५०० अमेरिकी डलर उपलब्ध गराउनेछ । साथै, एरिकाले प्रयोग गर्ने पोशाकमा तमु धीको लोगो राख्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले एसियन गेम्स र दक्षिण एसियाली खेलकुदजस्ता प्रतियोगितामा राज्यको लगानी हुने भएकाले त्यस्ता प्रतियोगितामा सहयोग नलिने स्पष्ट पारे ।

एरिकाको सहभागिता डब्लुकेएफ र एकेएफअन्तर्गतका प्रमुख प्रतियोगिताहरूमा सुनिश्चित गरिनेछ । उनले सन् २०२६ र २०२७ मा आयोजना हुने कराते प्रिमियर लिग, एसियन च्याम्पियनसिप, विश्व सितोरियो कराते च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारी गरेकी छन् ।

कार्यक्रममा उपाध्यक्ष कमल गुरुङले संस्थाले विगतदेखि खेलकुद, शिक्षा र प्राकृतिक विपद्का समयमा सहयोग गर्दै आएको उल्लेख गर्दै प्रतिभाशाली खेलाडीलाई विश्वस्तरमा पुर्‍याउन निरन्तर साथ दिने बताए । एरिका गुरुङजस्ता सक्षम खेलाडीलाई सहयोग गर्न पाउनु संस्थाका लागि गर्वको विषय भएको उनले बताए ।

सद्भावना दूत नियुक्त भएपछि एरिकाले डब्लुकेएफ वरीयतामा शीर्ष स्थानमा पुग्ने लक्ष्य रहेको बताइन् । तमु धी यूकेको साथले आफूलाई थप प्रेरणा मिलेको उल्लेख गर्दै उनले आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

महासंघका महासचिव दावा गुरुङले यस्तो सहयोगले अन्य खेलाडीलाई पनि प्रेरणा मिल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close