
पोखरा स्पोर्ट्स । तेस्रो संस्करणको ‘सूर्य तारा खेल तथा सांस्कृतिक महोत्सव’ यही चैत्र २७ गतेदेखि ३० गतेसम्म लेखनाथमा भव्य रूपमा आयोजना हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा सूर्य तारा क्लबले महोत्सवको तयारीलाई तीव्र बनाएको जनाएको छ ।
क्लबका अध्यक्ष विष्णु पुनका अनुसार यस वर्षको महोत्सवलाई अझ आकर्षक र सहभागितामूलक बनाउन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ । महोत्सव अन्तर्गत सेभेन ए साइड फुटबल, राष्ट्रिय खुल्ला महिला डोरी तान प्रतियोगिता, खुल्ला ‘स्लो’ महिला स्कुटर रेस तथा जातीय संघ–संस्थाको झाँकी प्रदर्शनी प्रमुख आकर्षणका रूपमा रहनेछन् ।
सेभेन ए साइड फुटबलतर्फ विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसअघि आयोजित संस्करणहरूमा परम्परागत फुटबल प्रतियोगिता भए पनि खर्च व्यवस्थापनका कारण यस पटक सेभेन ए साइडलाई प्राथमिकता दिइएको अध्यक्ष पुनले पोखरा स्पोर्ट्सलाई बताए ।
त्यसैगरी, राष्ट्रिय खुल्ला महिला डोरी तान प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खुल्ला ‘स्लो’ महिला स्कुटर प्रतिस्पर्धामा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ ।
यसैगरी, जातीय संघ–संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँसहित सम्मान गरिनेछ ।
खेल, संस्कृति र मनोरञ्जनलाई एकै थलोमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले स्थानीय प्रतिभा उजागर गर्नुका साथै सामाजिक एकता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने आयोजकको विश्वास छ ।