पर्वतको कुश्मामा खुल्ला, भेटेरान्स तथा मिक्स डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा स्पोर्ट्स । पर्वतको कुश्मामा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। पर्वत मोदिकाली ब्याडमिन्टन संघको आयोजनामा तथा जिल्ला खेलकुद विकास समिति पर्वतको समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

उक्त प्रतियोगिता यही चैत १२, १३ र १४ गते कुश्मास्थित कभर्ड हलमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा खुल्ला (टप २० र्याङ्किङबाहेक), बी लेभल, सी लेभल, ४५ वर्षमाथि भेटेरान्स तथा मिक्स डबल्स गरी विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ। साथै गण्डकी प्रदेशस्तरीय पुरुष डबल्स र खुल्ला मिक्स डबल्स पनि समावेश गरिएको छ ।

प्रतियोगितामा विजेता तथा उपविजेतालाई आकर्षक नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खुल्ला विधामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु २० हजार प्रदान गरिनेछ । ४५ वर्षमाथिको भेटेरान्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार प्रदान गरिनेछ ।

त्यस्तै, खुल्ला मिक्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २० हजार, रु १२ हजार र रु ८ हजार प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय बी लेभल डबल्सतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार प्रदान गरिनेछ भने सी लेभल पुरुष डबल्सतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

यस प्रतियोगितामा विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने आयोजक संघका अध्यक्ष सुनिल भुषालले जानकारी दिएका छन् ।

प्रतियोगिताले स्थानीय स्तरमा ब्याडमिन्टन खेलको विकास तथा खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब १९ लाख रुपैयाँ खर्च हुने आर्थिक उपसमितिका संयोजक राम प्रसाद पुनले जानकारी दिएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close