जिल्ला खेलकुद कास्कीले ‘वर्ष खेलाडी सम्मान’ कार्यक्रम निरन्तरता दिने

पोखरा स्पोर्ट्स ।  जिल्ला खेलकुद विकास समिति कास्कीले ‘वर्ष खेलाडी सम्मान’ कार्यक्रमलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न १२औं बैठकले उक्त निर्णय गरेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डिबी नेपालीले जानकारी दिएका हुन् ।

समितिका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा बसेको बैठकले वर्ष खेलाडी छनोटका लागि सदस्य रामचन्द्र गिरीको संयोजकत्वमा छनोट समिति गठन गरेको छ । उक्त समितिमा कार्यालय प्रमुख डिबी नेपाली, डिल्लीजंग गुरुङ, हिमाल गुरुङ, अशिम सुबेदी तथा खेलकुद पत्रकार मञ्चबाट एक जना प्रतिनिधि रहने निर्णय गरिएको छ ।

समितिका सचिव अञ्जु केसीका अनुसार वर्ष २०८२ का लागि एक पुरुष र एक महिला खेलाडीलाई नगदसहित सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम २०८३ बैशाखबाट सुरूवात गर्न लागिएको हो । २०८२ साल भित्र खेलाडीहरुले उत्कृष्टता हासिल गरेको आधारमा छनोट गरी सम्मान गरिने समितिले पोखरा स्पोर्ट्सलाई जानकारी दिएको छ । 

खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले २०६५ सालमा तत्कालिन समितिका अध्यक्ष दिल बहादुर गुरूङ नेतृत्वको समितिले सुरु गरेको यो कार्यक्रम विगत १७ वर्षदेखि स्थगित अवस्थामा थियो । २०६५ सालमा फुटबलका अनिल गुरुङ र भलिबलकी मञ्जु गुरुङ वर्ष उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए ।

त्यसैगरी, लामो समयदेखि रिक्त रहेको कोषाध्यक्ष पदमा नवनियुक्त आशिक थापा क्षेत्रीलाई बैठकमा स्वागत गरिएको छ भने भलिबल खेलाडी प्रमिला अधिकारीलाई रिक्त सदस्य पदमा मनोनयन गरिएको जिल्ला खेलकुदले जनाएको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा कास्कीमा दर्ता भएका अधिकांश खेल संघहरूले साधारण सभा र नवीकरण नगरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । हालसम्म १८ वटा खेल संघहरूले मात्रै नवीकरण गरेको जानकारी कार्यालय प्रमुख नेपालीले दिएका छन् ।

यसैबीच, एन्फामा बढ्दो विवादका सन्दर्भमा प्रदेश खेलकुद परिषदको निर्देशनअनुसार जिल्ला फुटबल संघ कास्कीलाई आवश्यक ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close