३२औं ताङतिङ चैत्र मेला २७ गतेदेखिः भलिबल, बास्केटबल, ‘करापु म्याराथन’सहित परम्परागत खेलहरू हुँदै

पोखरा स्पोर्ट्स । कास्कीको मादी गाउँपालिकास्थित सुन्दर गाउँ ताङतिङमा आयोजना हुन लागेको ३२औं ताङतिङ चैत्र मेला २०८२ अन्तर्गत भलिबल, बास्केटबल, दौड, छेलो र रस्साकस्सी लगायतका विविध खेलकुद प्रतियोगिताहरू सञ्चालन हुने भएका छन् ।

ताङतिङ युवा क्लबको आयोजनामा मेला यही चैत्र २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिएका हुन् । उनका अनुसार मेलाको तयारी तीव्र रूपमा अघि बढाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न कुल ६ लाख रुपैयाँ खर्च हुने छ । भलिबलतर्फ प्रथम र द्वितीय हुने टोलीले क्रमशः ८० हजार र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ओपन बास्केटबलतर्फ विजेताले १ लाख र उपविजेताले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, भेटेरान्स बास्केटबलतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

मेलाअन्तर्गत पोखरा–१३ काहुँ खोलाबाट सुरु हुने २४ किलोमिटर दौड प्रतियोगितालाई ‘करापु म्याराथन’ नाम दिइएको छ । जसमा प्रथम हुनेले ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार र चतुर्थले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

छेलो प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुनेछ । पुरुषतर्फ विजेताले २५ हजार र उपविजेताले १५ हजार पाउनेछन् भने महिलातर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । रस्साकस्सीतर्फ विजेताले १५ हजार र उपविजेताले ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार मेलाबाट करिब २६ लाख ४० हजार रुपैयाँ आम्दानी हुने र करिब १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेला सम्पन्न गर्न ताङतिङ कल्याणकारी कोष, गाउँपालिका, वडा कार्यालय, विभिन्न प्रायोजक संस्था तथा नेपाल पर्यटन बोर्डको सहयोग रहनेछ ।

स्थानीय स्तरमा खेलकुद विकास, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले आयोजना गरिने यो मेला यस वर्ष पनि आकर्षक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close