
पोखरा स्पोर्ट्स । पोखरामा शनिबार सम्पन्न २१औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एफएआइ २ क्याटोगरी)मा पुरुषतर्फ भारतका अक्षय कुमार र महिलातर्फ चीनकी कोङ जियाङ यान च्याम्पियन भएका छन् ।


नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ भारतका अक्षयले ७ अंक बटुल्दै च्याम्पियन बनेका हुन् । उनले नगद १ लाख ५० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।
त्यस्तै पुरुषतर्फ नै समान ७ अंकका साथ चीनका झाउ चेन उपविजेता बने । पुरुषतर्फ भारतका इमान रुम्तेल ८ अंकका साथ तेस्रो स्थानमा चित्त बुझाए । चीनका झाउले १ लाख नगद हात पार्दा भारतका इमानले नगद ५० हजार रुपैयाँ प्राप्त गरे ।
यता महिलातर्फ चीनकी कोङ जियान यान ७ अंकका साथ च्याम्पियन बनेकी छन् । उनकी प्रतिस्पर्धी नेपालकी दुर्गा माया गुरूङ १२६ अंकका साथ उपविजेता बन्दा भारतकी श्रेयशी तामाङ १४९ अंकका साथ तेस्रो स्थान प्राप्त गर्न सफल भएकी छन् । महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
टिम इभेन्टतर्फ
यस्तै टिम इभेन्टतर्फ भारतीय टिम ‘टिम फ्लाई भारकला’कुल ३८ अंकका साथ विजेता बनेको छ । भारतीय टिममा राहुल राई, अक्षय कुमार, मोहर सिंह र मनिष उप्रेती रहेका थिए ।
टिमतर्फ नै इन्डो–नेपाल सम्मिलित टिमले ६७ अंकका साथ दोस्रो स्थान हात पारेको छ । सो टिममा सोनाम लद्दाखी, अरुण जलारी, कृष्ण बहादुर क्षेत्री र गोपाल ठाकुर रहेका थिए । त्यस्तै विष्णु तिमिल्सिना, सुमन जङ्ग थापा, रोशन बस्नेत र युवराज सुनुवार सम्मिलित नेपाल टिम १०९ अंकका साथ तेस्रो स्थान प्राप्त गरेको छ ।
टिम इभेन्टतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
नेपाल क्याटोगरीका बिजेता
ओभरअलतर्फ नेपाली पुरुषतर्फ पवन परियार र अरुण जलारी समान ११–११ अंकका साथ पहिलो र दोस्रो हुँदा महिलातर्फ १२६ अंकका साथ पहिलो, इशा राई ३५४ अंकका साथ दोस्रो र कृषु पौडेल ५२६ अंकका साथ तेस्रो भइन् ।
यसै गरी आगामी दशौं राष्ट्रिय खेलकुदतर्फ नेपाल प्याराग्लाइडिङ संघ गण्डकी प्रदेशले पाँच जना खेलाडी छनौट गरेको टेक्निकल डाइरेक्टर योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार तीन पुरुष र दुई महिला गरी पाँच जना खेलाडी छनौट गरिएको छ । जसमा पुरुषतर्फ पवन परियार, अरुण जलारी र रिखी पोडे छन् भने महिलातर्फ दुर्गा माया गुरूङ र कृषु पौडेल रहेका छन् । नेपालतर्फ ओभरअल बिजेता र गण्डकी प्रदेशबाट छनौट हुन सफल खेलाडीहरुलाई जनही नगद रु १०–१० हजारका साथमा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
शनिबार खराब मौसमका कारण उडान हुन नसकी खेल रद्ध भएसँगै कुल पाँच राउण्डको स्पर्धामा खेलाडीहरुले प्राप्त गरेको अंकलाई नै अन्तिम गणना गरिएको प्रतियोगिताका संयोजक सुनिल बहादुर भट्टराईले बताए ।
प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीनका गरी ५ देशका ६२ खेलाडी सहभागी रहेका थिए, जसमा पुरुषतर्फ ५२ र महिलातर्फ १० जना थिए । चार वर्ष पछि आयोजित उक्त प्रतियोगिता ‘एक्युरेसी’ विधामा मात्र सञ्चालन भएको थियो ।
समापन कार्यक्रममा बिजेतालाई नेपाल नागरिक उडययन प्राधिकरण्का महानिर्देशक देउ चन्द्रलाल कर्ण, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने लगायतले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । समापन कार्यक्रममा नाका अध्यक्ष अनिल केसी, महासचिब बलराम आचार्य, बिमल अधिकारीले प्रतियोगिता सफल बनाउन भूमिका खेल्ने सहयोगी संस्था, स्वयंसेवक एवं टेक्निकल टिमलाई धन्यबाद दिएका थिए ।
