
पोखरा स्पोर्ट्स । पोखरामा आयोजना हुने नवौं एशिया कप ट्रायथ्लन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
शनिबार आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण विदेशीखेलाडीहरु पोखरा आइपुगेसँगै तयारी पुरा भएको नेपाल ट्रायथ्लन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।
पोखरा लेकसाइडस्थित हिमागृहबाट सुरू हुने प्रतियोगिताको स्थानिय व्यवस्थापन नेपाल ट्रायथ्लन संघ गण्डकी प्रदेशले गरिरहेको संघका वरिष्ठ उपाध्यक्ष दिपक कोइरालाले जानकारी दिएका छन् ।
महिला र पुरुषतर्फको सो प्रतियोगिताअन्तर्गत एशिया कप ट्रायथ्लनसँगै दक्षिण एशियाली ट्रायथ्लन प्रतियोगिता समेत समावेश रहेको छ ।
पोखरालाई केन्द्र बनाएर विगत ९ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा नेपालसहित विभिन्न १० देशका ४२ खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत फेवातालमा ७५० मिटर पौडी हुनेछ भने २० किमि साइक्लिङ (बाइक) र ५ किमि दौड हुनेछ ।
नेपालसहित जापान, स्लोभाकिया, उज्वेकिस्तान, दक्षिण कोरिया, सिङ्गापुर, ओमान, इस्टोनिया र भारतका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा एशिया कपतर्फ महिला तथा पुरुषतर्फका प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः ६३०, ५२५, ४२९, ३१५ र २१० अमेरिकी डलर नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सो प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गर्ने तय भएको छ ।
