
पोखरा स्पोर्ट्स । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा जारी २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ अन्तर्गत दोस्रो दिनका प्रतिस्पर्धा रोमाञ्चक रूपमा सम्पन्न भएका छन् । नेपालसहित पाँच देशका ६२ खेलाडी सहभागी रहेको प्रतियोगितामा दोस्रो दिनसम्मको समग्र अंकतालिकाअनुसार पुरुष एकलतर्फ भारतका अक्षय कुमार र चीनका झोउ चेन समान ७–७ अंकसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।
प्याराग्लाइडिङ खेल कुनै पनि बहानामा रोकिनु हुँदैन -सदस्य सचिव शर्मा
प्याराग्लाइडिङ प्रतियोगिताको रोमाञ्चक माहोलबीच आकाशमा उडान भर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सोलो उडानलाई स्थायी अनुमति प्रदान गर्न नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग जोडदार आग्रह गरेका छन् । उनले स्पष्ट शब्दमा भने, “प्याराग्लाइडिङ केवल खेल मात्र होइन, यो नेपालको पर्यटन र साहसिक गतिविधिको आत्मा हो । विभिन्न बहानामा यसको अनुमति रोकिनु भनेको हाम्रो साहसिक खेलकुदको मर्ममाथि प्रहार गर्नु हो ।”
शर्माका अनुसार सोलो उडानको निरन्तरता प्रदेशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय रहेको जनाउँदै उनले यस क्षेत्रलाई थप व्यवस्थित र प्रवर्द्धन गर्न सबै सरोकारवालाले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।
यसै अवसरमा सदस्य सचिव शर्माले गण्डकी प्याराग्लाइडिङ संघकी उपाध्यक्ष शर्मिला शर्मासँग टेन्डम फ्लाइट गर्दै आकाशीय सौन्दर्यको अनुभवसमेत साटेका थिए ।
त्यसैगरी, भारतका अलिस्तर रुमतेल र मनीष उप्रेती ८–८ अंकसहित संयुक्त तेस्रो स्थानमा छन् भने इमान रुम्तेल ८ अंकसहित पाँचौँ स्थानमा रहेका छन् । नेपाली खेलाडीहरूमध्ये अरुण जालारी र पवन परियार ११–११ अंकसहित संयुक्त छैटौँ स्थानमा छन् । उनीहरूले घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।
यसैगरी, भारतका मोहर सिंह, नेपालका रिखी पोडे र विष्णु तिमिल्सिना तथा भारतका सोनम लद्दाखी १२ अंकसहित संयुक्त आठौँ स्थानमा छन् । अन्य नेपाली खेलाडीमध्ये अञ्जन कुँवर १३ अंकसहित १२औँ स्थानमा रहँदा सुमन जंग थापा १६ अंकसहित १३औँ स्थानमा छन् ।
टिम इभेन्टतर्फ भारतीय मिक्स टोलीले अग्रता कायम राखेको छ । ११ टोली सहभागी रहेको प्रतिस्पर्धामा दोस्रो दिनसम्म भारत ३८ अंकसहित शीर्ष स्थानमा छ । इन्डो–नेपाल संयुक्त टोली ६७ अंकसहित दोस्रो स्थानमा छ भने टिम नेपाल १०९ अंकसहित तेस्रो स्थानमा रहेको छ। अर्को नेपाली टोली १६० अंकसहित चौथो स्थानमा छ ।
यता महिलातर्फको एकल प्रतिस्पर्धामा चीनकी कोंग सियाङ यान उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहेकी छन् । पाँच राउण्डसम्मको प्रतिस्पर्धामा उनले ७ अंकसहित शीर्ष स्थान बनाएकी छन् ।
नेपालकी दुर्गा माया गुरुङ १२६ अंकसहित दोस्रो स्थानमा रहेकी छन् भने भारतकी श्रेयशी तामाङ १४९ अंकसहित तेस्रो स्थानमा छन् । त्यसैगरी, नेपालकी इस्का राई ३५४ अंकसहित चौथो स्थानमा रहँदा कृषु पौडेल ५२६ अंकसहित पाँचौँ स्थानमा छन् ।
हालसम्म पाँच राउण्डका खेल सम्पन्न भइसकेका छन् । दोस्रो दिनसम्मको नतिजाले उपाधि होड निकै प्रतिस्पर्धात्मक हुने संकेत गरेको छ । मौसम तथा हावाको अवस्थाले खेलमा प्रभाव पारिरहेको भए पनि अधिकांश उडान सफलतापूर्वक सम्पन्न भएको मिड डाइरेक्टर बिमल अधिकारीले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।
प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीनका गरी ५ देशका ६२ खेलाडी सहभागी छन्, जसमा पुरुषतर्फ ५२ र महिलातर्फ १० जना रहेका छन् । प्रतियोगिता ‘एक्युरेसी’ विधामा मात्र सञ्चालन भइरहेको छ ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष व्यक्तिगततर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । समूहतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन् ।
महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरामा चार वर्षपछि पुनः आयोजना गरिएको यो प्रतियोगिता पर्यटन र साहसिक खेल प्रवर्द्धनमा महत्वपूर्ण मानिएको छ ।
प्याराग्लाइडिङ प्रतियोगिताको रोमाञ्चक माहोलबीच आकाशमा उडान भर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सोलो उडानलाई स्थायी अनुमति प्रदान गर्न नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग जोडदार आग्रह गरेका छन् । उनले स्पष्ट शब्दमा भने, “प्याराग्लाइडिङ केवल खेल मात्र होइन, यो नेपालको पर्यटन र साहसिक गतिविधिको आत्मा हो । विभिन्न बहानामा यसको अनुमति रोकिनु भनेको हाम्रो साहसिक खेलकुदको मर्ममाथि प्रहार गर्नु हो ।”