चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन : सीमित अन्तर्राष्ट्रिय सहभागिता, ८८ धावक प्रतिस्पर्धामा

पोखरा स्पोर्ट्स । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा हुने चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा अपेक्षाभन्दा कम अन्तर्राष्ट्रिय सहभागिता देखिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार आयोजना हुने प्रतियोगितामा नेपालसहित भारत, चीन, केन्या र अमेरिका गरी जम्मा पाँच देशका धावकले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

४२.१९५ किमि दूरीको म्याराथनमा कुल ८८ धावक सहभागी हुनेछन् । जसमा नेपालका ६० जना धावक छन् भने केन्याका ४, भारतका २, अमेरिकाका २ र केही चिनियाँ धावकको सहभागिता रहनेछ । 

महिलातर्फको हाफ म्याराथनमा १९ जना धाविकाको सहभागिता रहनेछ । नेपालकी चर्चित धाविका सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्नेछिन् । यद्यपि अन्य शीर्ष खेलाडीको उपस्थिति भने न्यून देखिएको छ । महिलातर्फ नेपाल, चीन र एक अमेरिकी धाविकाको मात्र सहभागिता रहेको छ ।

मुख्य म्याराथनमा सहभागिता कम देखिएपछि एनओसीले ५ किमि खुल्ला दौड, छात्र–छात्रा दौड, भेटरान दौड र ३ किमि पिस वाकाथनलाई प्राथमिकतामा राखेको छ, जसले आम स्थानियहरुको सहभागिता बढाउने अपेक्षा गरिएको छ ।

पुरुष म्याराथनतर्फ विजेताले ३ लाख ५० हजार, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष १० भित्र पर्ने धावकलाई पनि क्रमशः नगद पुरस्कार प्रदान गरिनेछ ।

महिला हाफ म्याराथनतर्फ विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ८० हजार, चौथो हुनेले ५० हजार र पाँचौँ स्थान हासिल गर्नेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

म्याराथनकै अवसर पारेर एनओसीले बिहीबार बोर्ड बैठक सम्पन्न गरेको छ । साथै विभिन्न खेलकुद संघका पदाधिकारी, पत्रकार तथा विशिष्ट व्यक्तित्वहरू एनओसीको निमन्त्रणामा लुम्बिनी पुगिसकेका छन् । लुम्बिनी पिस म्याराथनलाई नेपालस्थित चिनिया दुताबासले सहकार्य गर्दै आएको छ । 

विगत चार वर्षदेखि अन्तर्राष्ट्रिय सम्वन्धन प्राप्त एनओसीले म्याराथनमार्फत लुम्बिनीलाई विश्वमाझ प्रवर्द्धन गर्ने प्रयास गरिरहे पनि विदेशी सहभागिता भने उल्लेखनीय रूपमा बढ्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close