‘माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल’ चैत्र ११ देखि लाहाचोकमा हुँदै

पोखरा स्पोर्ट्स । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चौथो “माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२” हुने भएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोकको व्यवस्थापन तथा माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा प्रतियोगिता चैत्र ११ देखि १४ गतेसम्म लाहाचोकस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।

स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बढीभन्दा बढी सहभागिता सुनिश्चित गर्न टिम दर्ता शुल्क निःशुल्क गरिएको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले बताएका छन् ।

यसैगरी, चैत्र ११ गते पुरुष छेलो प्रतियोगिता पनि आयोजना गरिनेछ ।  जसमा प्रथमलाई रु १० हजार, द्वितीयलाई रु ५ हजार, तृतीयलाई रु २ हजार र सान्त्वनालाई रु १ हजार प्रदान गरिनेछ। छेलो प्रतियोगितामा पनि निःशुल्क दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीका अनुसार यस वर्ष भलिबलसँगै पुरुष छेलो समावेश गरिएकाले प्रतियोगितामा थप रौनकता आउने अपेक्षा गरिएको बताएकी छन् । त्यस्तै, वडा नं. ४ का अध्यक्ष मधुसूदन अधिकारीले प्रतियोगिताले लाहाचोकको पर्यटन प्रवर्द्धनसँगै खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदयमान खेलाडी तथा प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गरिनेछ । पुरुषतर्फ पालिकाभित्रका जुनसुकै तहका खेलाडी सहभागी हुन पाउनेछन् भने महिलातर्फ एक जना राष्ट्रिय खेलाडी समावेश गर्न पाइने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले चैत्र १० गतेसम्म दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close