एन्फामा एकै दिन चार संकट : लिग स्थगितदेखि निर्वाचन विवादसम्म

पोखरा स्पोर्ट्स । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) यतिबेला गम्भीर संकटको घडीमा उभिएको छ । एकै दिन चार–चार महत्वपूर्ण विषयमा समस्या देखिँदा नेपाली फुटबल नै अन्योल र विवादको केन्द्रमा पुगेको छ । एन्फाको इतिहासमै यस्तो अवस्था पहिलो पटक देखिएको हो ।

एन्फाको कार्यसमिति हाल देखिएको विवादले गम्भीर कमजोरी उजागर गरेको छ । विदेशी खेलाडीलाई पर्यटक भिसामा खेलाउन दिइनु जस्तो विषयले अध्यागमन विभाग सँग समन्वयको अभाव र कानुनी अनुपालनमा कमजोरी देखाउँछ भने पुरुष र महिला दुवै लिग एकैपटक स्थगित हुनु संकट व्यवस्थापन र पूर्वतयारीको कमीको संकेत हो ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद सँगको निर्वाचन विवादले संस्थागत समन्वय र प्रक्रिया पालनामा समस्या रहेको स्पष्ट पार्छ । समग्रमा पारदर्शिता, उत्तरदायित्व, दीर्घकालीन योजना र प्रभावकारी नेतृत्वको अभावका कारण एन्फाको कार्यसमिति अहिले विश्वास संकट र व्यवस्थापकीय असफलताको केन्द्रमा पुगेको देखिन्छ ।

सबैभन्दा पहिले, अध्यागमन विभाग ले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीहरूले राष्ट्रिय लिग खेलेको विषयमा छानबिन सुरु गरेको छ । विभागले गैरकानुनी रूपमा खेलेको पुष्टि भएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

यही विवादका कारण पुसदेखि सञ्चालनमा रहेको पुरुष राष्ट्रिय लिग अनिश्चितकालका लागि एन्फाले स्थगित गरेको छ । अवैध रूपमा विदेशी खेलाडी सहभागी भएको आशंका पछि प्रतियोगिता रोकिन पुगेको हो ।

त्यसैगरी, बुधबारदेखि सुरु भएको सहिद स्मारक महिला लिग पनि उस्तै कारणले स्थगित गरिएको छ । महिला लिगमा समेत विदेशी खेलाडीको सहभागिता सम्बन्धी विवाद उठेपछि खेल तालिका प्रभावित भएको छ ।

अर्कोतर्फ, राष्ट्रिय खेलकुद परिषदमा अनुमति नलिई निर्वाचन प्रक्रिया अघि बढाइएको भन्दै एन्फालाई केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित गर्न राखेपले निर्देशन दिएको छ । चैत १३ गतेका लागि तय गरिएको निर्वाचन हालका लागि रोकिने अवस्थामा पुगेको छ ।

यी सबै घटनाक्रमले नेपाली फुटबलमा ठूलो अन्योल सिर्जना गरेको छ । प्रशासनिक कमजोरी, कानुनी विवाद र व्यवस्थापन पक्षको आलोचनाले एन्फा अहिले चौतर्फी दबाबमा परेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close