२१औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सुरू

पोखरा स्पोर्ट्स । पोखरामा २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।  प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरू सामान्य रूपमा सम्पन्न भए पनि मौसम प्रतिकूल भएका कारण केही पाइलटहरूले आफ्नो उडान पूरा गर्न सकेनन् । प्रतियोगिताका संयोजक सुनिल भट्टराईका अनुसार दोस्रो चरणमा मात्रै १५ जना पाइलटले मौसमका कारण उडान गर्न सकेनन् ।

“उद्घाटनको पहिलो दिन प्रतियोगिता सहज रूपमा अघि बढेको छ । आयोजक मात्र होइन, सहभागी खेलाडीहरू पनि उत्तिकै उत्साहित छन्,” उनले भने ।

उनका अनुसार खाडी क्षेत्रको अवस्थाका कारण केही विदेशी खेलाडीहरूले अन्तिम समयमा सहभागिता फिर्ता लिएका छन् । प्रतियोगितामा नेपालसहित भारत, इटाली, जर्मनी र चीनका गरी ५ देशका ६२ खेलाडी सहभागी छन्, जसमा पुरुषतर्फ ५२ र महिलातर्फ १० जना रहेका छन् । प्रतियोगितामा ‘एक्युरेसी’ विधा मात्र सञ्चालन गरिएको छ ।

नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता चैत ७ गतेसम्म जारी रहनेछ। प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले पोखराको पर्यटनको मुख्य आधारका रूपमा रहेको प्याराग्लाइडिङलाई नियमित र व्यवस्थित बनाउन विभिन्न पहलहरू भइरहेको बताए । अन्तर्राष्ट्रिय विमानस्थलका कारण प्रभावित बनेको प्याराग्लाइडिङ उडानलाई पुनः व्यवस्थित रूपमा सञ्चालन गर्न सरोकारवालासँग छलफल भइरहेको उनको भनाइ थियो । उनले पोखरा आउने अधिकांश पर्यटकहरूको रोजाइमा पर्ने यस साहसिक खेललाई अझ सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीहरूलाई आग्रह गरे ।

प्रतियोगितामा व्यक्तिगततर्फ पुरुष विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। समूहतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन्। महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उद्घाटन कार्यक्रम नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close